भदौ ३ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘वीर विक्रम’को अहिले सर्वाधिक चर्चा छ । यो चलचित्रलाई लिएर देशदेखि विदेशका दर्शक उत्साहित छन् । चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएपछि यसको उचाई बढेको हो ।
चलचित्रको क्रेज कुन उचाइमा पुगेको छ भन्ने वुझ्नका लागि एक फ्यानले देखाएको क्रेज हेर्दा पुग्छ । गणेश राइ नाम गरेका एक फ्यानले चलचित्र पोष्टर आफ्नै हातबाट तयार गरेर निर्देशक मिलन चाम्स र नायक दयाहाङ राइलाई हस्तान्तरण गरेका छन् ।
चलचित्रको पोष्टर मन परेकाले आफूले हातले नै कोरेको उनले बताए । उनले आफू नायक राइको ठूलो फ्यान रहेको समेत बताए । फ्यानले देखाएको मायाले दंग परेको चलचित्रका निर्देशक मिलन चाम्सले आउँदा दिनमा दर्शककै रोजाइमा चलचित्र बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
निर्देशक राइले आफ्नो चलचित्र पूर्ण रुपमा अर्गानिक कथामा तयार भएको भन्दै देशभर चलचित्रप्रति देखिएको उत्साहले उत्साहित भएको बताए । नायक दयाहाङ राइ पनि चलचित्र र आफूप्रति दर्शकले देखाएको मायाले खुशी देखिएका छन् ।
दयाका साथमा अनुप विक्रम शाही, अर्पण थापा, दिया पुनको मुख्य भूमिका रहेको यो चलचित्र सस्पेन्स कमेडी कथामा निर्माण भएको छ ।
(२०७३ साउन १९ गते १३:१६मा आवधिक गरिएको)