बार्सिलोना, वैशाख २४ – बार्सिलोनाको स्ट्राइकिङ फोर्स एमएसएन चम्किएपछि भिल्लेरियाललाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियनले रियल म्याड्रिडमाथि दबाब कायम राखेको छ । नेयमार, लुइस सुवारेज र लियोनेल मेस्सीले गोल गर्दै यो सिजन एमएसएनले १ सय गोल पूरा गरेपछि बार्सिलोना ४–१ गोलअन्तरले विजयी बनेको हो । यो सिजन ला लिगामा घरेलु मैदानबाहिर सबैभन्दा कम गोल खाएको फ्रान एस्क्रिबाको टोलीले क्याम्प नाउमा त्यो प्रदर्शनलाई दोहोराउन सकेन । खेलको २१ औँ मिनेटमा नै नेयमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । सेड्रिक बाकाम्बुले लगत्तै एक गोल फर्काउँदै खेल बराबरीमा ल्याए पनि त्यसपछि बार्सिलोनाले गोलको वर्षा गरेको थियो । त्यसपछि मेस्सीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । योसँगै एमएसएनले यो सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या १ सय पुर्यायो । यसक्रममा मेस्सीले ५० गोल गरेका छन् भने सुवारेजले ३४ तथा नेयमार १६ गोल गरेका छन् । शीर्ष ५ युरोपियन लिगमा ५० गोल पूरा गर्ने मेस्सी यो सिजन पहिलो खेलाडी हुन् । दोस्रो हाफमा सुवारेजले अर्को गोल थपे भने खेलको अन्त्यतिर २० यार्ड टाढाबाट फ्रिकिक हान्दै मेस्सीले बार्सिलोनलाई सहज जित दिलाए । जीतसँगै ३६ खेलबाट बार्सिलोना ८४ अंकसहित हेड टु हेडका आधारमा रियललाई उछिन्दै ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ । एजेन्सी