जेठ १५ मा कामचलाउ बजेट ल्याउन तीन दल सहमति नजिक

23

२५ बैशाख, काठमाडौं । निर्वाचनमा असर पर्ने भन्दै एमालेले बजेट अगाडीनै निर्वाचन गर्नु पर्ने माग गरिरहेको बेला अब बजेटमा नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच लगभग सहमति भएको छ । अहिले भएको सहमति सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मितिमै हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे कुराकानी भएको थियो ।
यस अघि जेठ १५ मा बजेट ल्याउनुपर्ने र बजेट अघि नै चुनाव गर्नु पर्ने एमालेको अडानपछि दलहरुबीच दोस्रो चरणको चुनाव सार्नेबारे छलफल सुरु भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच केही दिनअघि सिंहदरबारमा भएको भेटमा पनि यसबारे कुराकानी भएको थियो । र, माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले अन्य दलसँग परामर्श गर्ने जवाफ दिएका थिए ।
तर, अब जेठ ३१ को चुनाव सार्ने सम्भावना टर्दै गएको छ । निर्वाचन आयोग स्वयंमले दोस्रो चरणको चुनाव बजेट अगाडि सार्न नसकिने बताएको छ ।
अब दोस्रो चरणको चुनाव पूर्व घोषित मिति जेठ ३१ मै हुने सम्भावना बढेको छ । यद्यपि यसबारे दलहरु छलफलमै रहेकाले अन्तिम निर्णय हुन बाँकी रहेको बताईको छ ।

https://ankushdaily.com/