काठमाडौं । भोली हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना स्थानिय मतदान केन्द्रमा नै हुनेभएको छ । ३४ जिल्लाका २८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन भोली हुने छ । पहिलो चरणको निर्वाचनको मतगणना तत्कालै हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदान सकिने वित्तिकै मतगणना शुरु हुने छ । स्थानीय तहको निर्वाचनको मतपेटीका जिल्ला सदरमुकाममा नलगीने भएको छ । मतगणना स्थानीय तहमै हुने आयोगले जनाएको छ ।
‘मतपेटीका जिल्ला सदरमुकाममा लगेर गणना हुँदैन । स्थानीय तहमै गणना हुन्छ,’ आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘किनभने यो स्थानीय तहको निर्वाचन हो । २८३ स्थानीय तहमा मतगणा हुन्छ ।’ स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय रहने र त्याहिँ मतगणना हुने मैनालीले बताए । उनले यो निर्वाचन राष्ट्रिय निर्वाचन नभएकाले पहिलो चरणको मतगणना गर्दा मतदाताको मासिकतामा कुनै परिवर्तन नहुने बताए ।
‘यो स्थानीय तहको चुनाव हो । यसमा स्थानीय तहका मुद्धाहरु उठ्छन्,’ उनले भने ‘एक ठाँउको मुद्धा र अर्को ठाँउको मुद्धा विषेशरुपमै फरक हुन्छ । त्यसैले तत्काल मतगणना गर्दा निर्वाचन हुन बाँकी ठाँउका मतदातालाई प्रभाव पार्दैन ।’ पहिलो चरणको निर्वाचनबाट तेह्र हजार ५ सय ५६ जना प्रतिनिधी निर्वाचित हुने आयोगले जनाएको छ । जसमध्ये ३१६ जना निर्विरोध निर्वाचित भइसकेका छन् । ४९ हजार ७५४ जनाले उम्मेद्वारी दिएका छन् । स्थानिय तहको प्रमुखमा १९ हजार ४ सय २३, उपप्रमुखमा १४४५, वडाध्यक्षमा १० हजार ९ सय ६०, वडा सदस्यमा १८ हजार ६ सय ४८, महिला सदस्य ९ हजार १ सय ३९ र महिला सदस्य ७ हजार ५ सय ८३ जानाले उम्मेद्वारी दिएको आयोगले जनाएको छ ।