वीरगंज, ३१ बैशाख । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले संचालन गरेको सम्भव शुन्य सहनशिलताः लैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम अन्तर्गत अन्तर्रक्रियात्मक शिक्षण सिकाई विधि र लैंगिक हिंसा सम्बन्धी तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी केदार तिवारीले एनजीओसीसीले संचालन गरेको कार्यक्रम विद्यालय र विद्यार्थीको हितमा रहेकोले कार्यक्रमलाई प्रभावकारी बनाउन सवै श्रोत व्यक्ति र वि.नि.हरुले सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो ।
तालिममा सम्भव शुन्य सहनशिलता कार्यक्रम अन्तर्गत हालसम्म सम्पन्न भएका क्रियाकलाप र उपलब्धि बारे संस्थाका उपाध्यक्ष इब्राहिम देवानले प्रस्तुत गर्नुभयो भने रेस्टलेस डेभलपमेन्टका क्षेत्रीय कार्यक्रम संयोजक उमाशंकर यादवले सम्भव शुन्य सहनशिलता कार्यक्रमको लक्ष्य तथा उदेश्यहरुको बारेमा प्रस्तुति गर्नुभएको थियो । उदघाटन सत्रमा बोल्दै एनजीओसीसीका अध्यक्ष रामनरेश प्रसाद यादवले कार्यक्रम जुलाई २०१६ देखि संचालनमा रहेको र यसलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न परिमार्जित रुपमा अगाडि बढाउन श्रोत जिल्ला शिक्षा कार्यालय पर्साको सहयोग अपरिहार्य रहेको बताउनुभयो । युएसआईडी, युनिसेफ नेपाल र रेस्टलेस डेभलपमेन्ट नेपालको सहयोगमा एनजीओसीसीले पर्सा जिल्लाको ५० वटा विद्यालयमा सम्भव शुन्य सहनशिलता कार्यक्रम संचालन गर्दै आएको छ ।