वीरगन्ज ।
सरकारले बीरगंज र बिराटनगरलाई उप–महानगरपालिकाबाट महानगरपालिका बनाउने भएको छ । त्यसै गरी तराई मधेसमा २४ स्थानीय तह थप्ने तयारी गरेको छ । साथै २३ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने प्रस्ताव पनि कार्यदलले तयार पारेको छ ।
मधेसी मोर्चाले स्थानीय तहको संख्या बढाउन माग गरेपछि सरकारले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदल बनाएको छ । कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरेर आफ्नो प्रतिवेदन तयार पारेको छ ।
विराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउँन यसका आसपासका केही गाउँपालिकाका केही वडालाई गाभ्ने कार्यदलको प्रस्ताव छ ।पहिला काठमाडौं, ललितपुर, पोखरा र भरतपुर मात्र महानगर रहेकोमा विराटनगर र वीरगन्ज थपिएर महानगरपालिकाको संख्या ६ पुग्नेछ । त्यसै गरी दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नै मध्य तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप्ने कार्यदलले प्रस्ताव गरेको छ । मधेसी मोर्चाले तराई मधेसका १९ जिल्ला स्थानीय तहको संख्या बढाउन माग गर्दै आएको छ । उसले मधेसमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या हुनु पर्ने माग गरेको छ । मधेसी मोर्चाले भने अनुसार गर्ने हो भने १ सय बढी स्थानीय तह थप्नुपर्छ ।
कार्यदलले भने तराई मधेसका विभिन्न जिल्लामा २४ गाउँपालिका थप्ने प्रस्ताव तयार भएको छ । साथै २३ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव पनि कार्यदलले अघि सारेको छ ।तराईका विभिन्न १९ जिल्लाका स्थानीय तहको पुन: अध्ययन विश्लेषण गरिएको थियो र त्यो अध्ययनअनुसार नै केही स्थानीय तह थप्ने निष्कर्ष निकालिएको छ । सरकारले यससंगै स्थानीय तहको निर्वाचन हुने सम्भावना बढेको बीरगंज वासीले गर्न थालेका छन् । अंकुश दैनिकमा समाचार छ ।