वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै बुधबार पदबाट राजीनामा दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा विशेष सम्बोधन गर्दै दाहालले १० महिने सरकारबाट राजीनामा दिएका हुन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाउने बताएका छन्। आफू सफल प्रधानमन्त्रीको रुपमा विदा हुन पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले अब नेता र सांसदको रुपमा मुलुक र जनताको सेवा गर्ने बताए। राजनीतिक नेतृत्वमा इमान्दारिताको खडेरी देखिएको र सत्ता साझेदारीका लागि भएका सहमति कार्यान्वयन नभएको सन्दर्भमा आफूले राजीनामा दिएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘नेपालको राजनीतिमा सहमति कार्यान्वयन नगर्ने प्रवृत्ति छ। मलाई दोस्रो चरणको निर्वाचन समेत गराउन विपक्षी दलले समेत भनेकोमा धन्यवाद दिन चाहान्छु तर म अब एउटा सांसदको हैसियतमा रहन्छु,’ प्रधानमन्त्री दाहालले भने। सम्बोधनका क्रममा उनले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौँ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको बताए।