बिजय चौहान
वीरगन्ज, साउन । भारतबाट अबैध रुपमा भित्र्याइएका ५० थान गोली सहित पक्राउ परेका दुई जना अभियुक्तलाई बुधबार जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ । १२ बोरको ५० थान गोली सहित पक्राउ परेका पर्साका बगवाना–७ निवासी वर्ष ५५ का क्षेत्री चौधरी र वर्ष २१ का रामकिशुन चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार रहेका चौधरीद्वयले आलुको बोरामा गोली लुकाई छिपाई नेपाल भित्र्याउन लागेको पूर्व सुचनाको आधारमा पर्साको मनवा र रंगपुरटाँडीको वीचमा रोकी चेक जाँच गर्दा १२ बोरको ५० थान गोली बरामद भएपछि आवश्यक अनुशनधानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सममेलनमा उपस्थित रहेका संचारकर्मीलाई जानकारी दिदै उपरिक्षक गिरीले पक्राउ परेका दुवै अभियुक्त माथि हात हतिया तथा खरखजाना मुद्दा चलाउने तयारी भएको बताउनु भयो ।
पक्राउ परेका क्षेत्री चौधरी वन पैदावार चोरी निकारी , वन रक्षकमाथि आक्रमण जस्ता अपराधमा पहिलेपनि मुद्दा खेपिसकेको उपरिक्षक गिरीले जानकारी दिनुभयो ।उहाँले पर्साको राष्ट्रिय वनबाट काठ चोरी निकासी गर्ने क्रममा वन कर्मचारीमाथि हातपात गरेको अभियोगमा क्षेत्री चौधरी माथि २०६७ साल असार ३ गते कुटपिट तथा अंगभंग मुद्दा दर्ता भएको बताउनु भयो । पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।