एजेन्सी – रियल म्याड्रिडले आइतबार सुपर कपको पहिलो लेगमा चिर प्रतिद्वन्द्वि बार्सिलोनाको सामना गर्दैछ । आइतबार यी दुई टोलीबीच सिजनको पहिलो ‘एल क्लासिको’ हुँदैछ । सुपर कपको दोस्रो लेग बुधबार हुँनेछ । सन् २०१२ पछि यता पहिलो पटक यी दुई टोली सुपर कपमा भिड्दैछन् ।
शनिबार रियलले अभ्यास गर्दा क्रिस्टियानो रोनाल्डो पनि सामेल भएका थिए । कन्फेडेरेसन कपपछि रोनाल्डो लामो समय विदामा बसेका थिए । अघिल्लो साता म्यानचेस्टर युनाइटेडविरुद्धको युइएफए सुपर कपको फाइनलमा मात्र ७ मिनेट मात्र उत्रेका थिए । सुपर कप रियलले २–१ ले जितेको थियो ।
आइतबारको खेलअघि रोनाल्डोले छोरीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । एल क्लासिकोका विषयमा रियलका प्रशिक्षक जिनेदिन जिदानले भने,‘रोनाल्डोले ती दिन देखि मात्र अभ्यास गरेका छन् । तर पनि उनी ठिक छन् र हामी आइतबारको खेलका बारेमा सोचिरहेका छौं ।’
मंगलबार युनाइटेडलाई हराएपछि जिदानले यो सिजन बढी भन्दा बढी सफलताका लागि प्रयास गर्ने बताएका थिए । ‘हामीसँग टोलीमा एक सय एक प्रतिभावान खेलाडी छन् ’ जिदानले भनेका थिए, ‘हामी एकदम भोकाएका छौं । हामी बढी भन्दा बढी उपाधि जित्न चाहन्छौं ।’