दोहोरो अंकले घट्यो बजार

37

काठमाडौं, मंसिर ३ । साताको पहिलो दिन नेप्से परिसुचकमा कमी आएको छ । आज आइतबार नेप्से परिसुचक १३ दशमलव ३४ अंकले घटेको छ । यसअघि विहिबार बजार १५ अंक र बुधबार बजार ११ अंकले घटेको थियो ।
परिसुचकमा गिरावट आएको भएपनि विहिबारको तुलनामा कारोबार रकममा भने खासै उतारचढाव आएको छैन् । विहिबार ४४ करोड रुपैयाँ शेयर कारोबार भएको बजारमा आइतबार १५६ कम्पनीको ४५ करोड ५२ लाख ७२९ रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतबार कारोबारमा आएका नौ समूहमध्ये उत्पादन तथा प्रशोधन बाहेकका सबै ओरालो लागेका छन् । जसमध्ये बीमा समूह १३४ दशमलव ३३ अंकले, होटल समूह ८५ दशमलव २५ अंकले, विकास बैंक समूह १७ दशमलव ६६ अंकले, जलविद्युत समूह १० दशमलव ४५ अंकले, बैंकिङ समूह ७ दशमलव ३४ अंकले, लघुवित्त २४ दशमलव ८७ अंकले, फाइनान्स ५ दशमलव ०८ अंकले र अन्य ४ दशमलव ८ अंकले घटेका छन् ।

आज सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर किनबेच भएको छ । बैंकको ७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटलको २ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । स्टेयाण्डर्ड चार्टर्ड बैंक, नेपाल लाईफ इन्स्योरेन्स, अरुण काबेली पावर, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकको एक करोडभन्दा माथिको शेयर किनबेच भएको छ ।

यसदिन सर्वाधिक कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ३ दशमलव ५९ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी गुमाउनेमा भने नेपाल हाइड्रो डेभलपरका शेयरधनी रहेका छन् । यो कम्पनीको शेयरको मूल्य ९ दशमलव १५ प्रतिशतले घटेको छ ।

https://ankushdaily.com/