वीरगन्ज ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बाम गठबन्धनले दुई तिहाई पाए वर्तमान संविधानलाई खारेज गरी एक दलिय कम्युनिष्ट साशन लाद्ने दाउमा रहेको खुलासा गर्नु भएको छ । उहाँले अहिलेको संविधानलाई संशोधन गरी राष्ट्रपतिय पद्यती लागुगर्दै मुलुकमा डर त्रास कायम गर्दै तानाशाही कम्युनिष्ट शासन व्यवस्था लगाउन बाम गठबन्धन चाहेको दावी गर्नु भयो ।
नेपाली काँग्रेस पर्साले आज वीरगन्जमा आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्दै सभापति देउवाले सबैलाई अधिकार सम्पन्न बनाएको संसदिय व्यवस्थालाई समाप्त पार्ने दाउमा बाम गठबन्धन रहेको दावी गर्दै उहाँले कम्युनिष्टहरुको दुई तिहाई पुगे लोकतन्त्र नै समाप्त हुने खतरा रहेकोले सोबाट सजगभई लोकतन्त्र रक्षाका लागि आफ्नो मत काँग्रेसका उम्मेदवारलाई दिन अपिल गर्नु भयो । नेपाल सबै धर्म, जातजाती भाषा भाषीको देश भएको र यसमा मधेसीलाई संविधान संशोधन गरी समान अधिकार दिन बाकी रहेकोमा वर्तमान संविधानलाई नै कम्युनिष्टहरुले समाप्त पार्ने खेलमा लागेको सभापति देउवाले आरोप लगाउनु भयो ।
सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन विदेशी लगानी नेपाल भित्र्याउन आवश्यक रहेको बताउनु भएको छ । उहाँले विदेशी लगानी भित्र्याउनका लागि लागानी सुरक्षित भएको विश्वास लगानी कर्तालाई दिलाउन आवश्यक रहेको प्रस्ट पार्नु भयो । विदेशी लगानी मुलुक भित्रीएपछि उद्योग, कारखाना स्थापना हुने र रोजगारको अवसर सिर्जना संगै राष्ट्र समृद्धीको बाटोमा लम्कीने भएकाले लगानी कर्तालाई लगानी लगाउने वातावरणको निर्माण आवश्यक रहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले नेपालमा लगानी भित्र्याउनका लागि नेपाली काँग्रेस कै नेतृत्वमा सरकार निर्माण आवश्यक रहेको जिकिर गर्दै उहाँले कम्युनिष्ट शासन भएको देशमा विदेशी लगानी नभित्रीने भएकाले प्रनितिधी तथा प्रदेश सभा निर्वाचनमा रुख छापमा मतदान गरी बहुमतले काँग्रेसको सरकार बनाउन मतदातालाई अपिल गर्नु भयो । कार्यक्रममा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले कम्युनिष्ट र मधेसवादी दलहरुसंग राष्ट्रको विकास हुनै नसकिने बताउनु भएको छ । उहाँले एउटा पहाडी उग्रवाद र अर्कोले मधेसी उग्रवादको कुरा गर्ने भएकाले विकास उनीबाट सम्भव नभएको प्रष्ट पार्नु भयो । राष्ट्र विकासका लागि सबैलाई मिलाएर हिड्ने नेतृत्वदायी क्षमता आवश्यक रहेको र सो क्षमता काँग्रेस वाहेक अरु कुनै दलमा नरहेकाले काँग्रेसलाई मतदान गरी मुलुकलाई समृद्धीको बाटोमा डोर्याउन मतदातालाई अपिल गर्नुभयो ।
नेपाली काँग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको आम सभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, पुर्व मन्त्रि सुरेन्द्र चौधरी निर्वतमान सांसद अनिल रुङ्गटा लगायतले सम्बोधन गर्दै काँग्रेसलाई मतदान गर्न अपिल गरेका थिए ।