पर्सामा प्रत्यक्ष तर्फ दश प्रतिशत भन्दा बढी मत बदर

60

बिजय चौहान
वीरगन्ज,२६ मंसिर ।
मतदाता शिक्षाको कमीका कारण पर्सामा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ । निर्वाचन आयोग तथा राजनीतिक दलहरुले मतदातालाई मतदान वारे जानकारी दिन नसकेको कारण पर्साबाट प्रतिनिधी तथा प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ १०.०९ प्रतिशत मत बदर भएको हो ।
मंसिर २१ गते सम्पन्न भएको निर्वाचनमा पर्साको ४ क्षेत्रबाट २ लाख ६ हजार ४ सय ७२ मत खसिएको र सो मध्ये प्रत्यक्ष तर्फबाट २० हजार ८ सय ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
राजनीतिक दलका नेता कार्यकर्ताले मतदातालाई मतदान वारे जानकारी नगराएको र तीन वटा मत पत्रको कारण मतदाता अलमलमा परेकाले बदर मतको संख्या बढी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँले एउटै मत पत्रमा चारवटासम्म स्वस्तिक छाप लगाएको मतपत्र मतगणनाको क्रममा भेटिनुको साथै प्रत्यक्षको मतपत्र समानुपातिको मतपेटिकाबाट फेला परेको बताउनु भयो ।
पर्सामा मतदाता शिक्षा कार्यक्रमका लागि ३६ लाख रुपैयाँ खर्च गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो । उहाँले पर्साको ४ निर्वाचन क्षेत्रको लागि ३ सय ५१ जना मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्दा ३५ लाख र संचारमाध्यमका लागि एक लाख खर्च गरिएको बताउनु भयो ।
७१.४२ प्रतिशत मतदान भएको पर्सामा राजनीतिक दल तथा निर्वाचन कार्यालयको कमजोरी कै कारण २० हजार भन्दा बढीको मत सदुपयोग हुन नसकेको बाट पाठ सिक्दै आगामी निर्वाचनमा सबैलाई आ–आफ्नो कमजोरीलाई समाप्त गर्न जरुरी रहेको आम मतदाताको भनाई रहको छ ।

https://ankushdaily.com/