आयात घटेसंगै एक महिनामा प्याजको मुल्य तीन गुणा वृद्धीे

95

बिजय चौहान
वीरगन्ज,२७ मंसिर ।
भारतबाट नेपालका लागि वीरगन्ज नाका प्रयोग गरी हुँने प्याजको आयातमा कमी भएसंगै नेपाली बजारमा प्याजको भाउ दिनानुदिन बढ्दै गएको छ । विगतका दिनमा उधारो मै नेपाली व्यापारीले भारतको नासिक लगायतका स्थानबाट प्याज आयात गर्दै आएकोमा भारत सरकारले एल.सी विना निर्यात गर्न नपाउने नियम लगाएपछि एक महिना यता प्याजको आयात घटेको हो ।
एक महिना अगाडी दैनिक ३५ टनको हाराहारीमा वीरगन्ज नाकाबाट प्याज आयात हुँदै आएको थियो भने, एल.सी सम्बन्धि नयाँ कानुनको कारण आयात घटेर पाँच/सात टनमा झरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको चार महिनामा भारतको विभिन्न स्थानबाट वीरगन्ज नाका प्रयोग गरी चार सय दश मैट्रिक टन प्याज आयात भएको वीरगन्ज भन्सारका सुचना अधिकृत सन्तोष यादवले जानकारी दिनुभयो ।
एक महिना पहिले ३० देखी ३५ रुपैया प्रति किलोमा विक्री हुदै गएको प्याजको मुल्य हाल खुद्रा बजारमा ९० रुपैया देखी ९५ रुपैया पुगेको छ ।
नेपाली व्यापारीले (भारु २० लाख) ३२ लाख रुपैयाको सेक्युरिटीमिनी जम्मा गरेपछि मात्र एल.सी मार्फत भारतबाट प्याज आयात गर्न सकिने कानुनी व्यवस्थाका कारण प्याजको आयात हुन नसकेको वीरगन्ज तरकारी तथा फलफूल व्यवसायि संघका अध्यक्ष विदुर गुप्ताले जानकारी दिनुभयो । उहाँले थोरै पुंजीले कारोवार गर्ने नेपाली व्यापारीले भारतको एलसी सम्बन्धि नयाँ कानुनलाई पुरा गर्न कठिनाई रहेकाले आयात घटदै गएको कारण बजारको मागलाई पुरा गर्न नसक्दा प्याजको भाउ एक महिनामा तीन गुणा बढेको बताउनु भयो ।
पहिले फोनकै भरमा भारतको विभिन्न स्थानबाट नेपाली व्यापारीले प्याज आयात गर्दै आएकोमा भारत सरकारको नयाँ कानुनले व्यापारमा अप्ठ्यारो सिर्जना गर्नुको साथै उपभोक्तालाई समेत बढि मुल्य तिर्न बाध्य बनाएको अध्यक्ष गुप्ताको भनाई रहेको छ ।
वीरगन्जबाट दैनिक ३५ देखी ५० टन सम्म प्याज काठमाण्डौ लगायत मुलुकको विभिन्न जिल्लामा जाने गरेकोमा आयात नै कम भएपछि हाल दैनिक पाँच टन समेत पठाउन नसकिएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
नेपालमा खपत हुने प्याजको एक प्रतिशत पनि नेपालमा उत्पादन नभएकाले पूर्ण रुपमा भारतमै आश्रित बन्नु परेको बताउदै अध्यक्ष गुप्ताले प्याज खेतिलाई व्यसायिक रुपमा गर्न गराउन सरकराले विशेष योजना ल्याए हाल देखिएको परर्निभरतालाई कम गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
तरकारी खेतिलाई प्रोत्साहित गर्न नेपाल सरकारले विभिन्न योजना ल्याएपनि प्याजको व्यवसायिक खेती तराईका जिल्लामा हुन नसकेको जिल्ला कृषि विकास कार्यालय पर्साका अधिकृत श्यामकिशोर कुर्मीले जानकारी दिनुभयो । उहाँले पर्सामा अन्य तरकारी खेती भएपनि गत वर्ष एक सय ६० हेक्टरमा मात्र प्याज खेती गरिएको जसमा ९ सय ६० टन मात्र प्याज उत्पादन भएको बताउनु भयो ।
भारतबाट प्याज आयात गर्दा देखिएको एल.सीको कठिनालाई समाप्त गर्न नेपाल सरकारले भारत सरकारसंग चाँडै पहल नगरे आउने दिनमा प्याजको मुल्य अझै बढने व्यापारीहरुको भनाइ रहेको छ ।

https://ankushdaily.com/