जितपुर सिमरा उपमहानगरपालिका खुल्ला दिशामुक्त बनाइने

94

मनोज साह
जितपुर बारा, २१ पौष ।
जीतपुरसिमरा उपमहानगरले चैत्र मसान्तसम्ममा आफ्नो नगरलाई खुल्ला दिशामुक्त उपमहानगर बनाउने भएको छ ।
युनिसेफको सहयोगमा जीतपुरसिमरा उपमहानगरले शुक्रवार सिमरामा आयोजना गरेको उपमहानगर स्तरीय कार्ययोजना कार्यान्वयन तथा प्रगति प्रतिबद्धता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख डा. कृष्ण पौडेलसहित २४ वटाका वडाअध्यक्षले उपमहानगरलाई खुल्ला दिशामुक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान सञ्चालनमा उपमहानगरले आयोजना गरेको कार्यक्रममा २४ वटै वडाका वडाअध्यक्षले आफ्नो वडालाई खुल्ला दिशामुक्त वडा बनाउने प्रतिबद्धता जनाए । उपमहानगरमा ५० प्रतिशत घरमा अझै शौचालय बन्न सकेको छैन् । खुल्ला दिशामुक्त अभियान अन्तर्गत चैत्र मसान्तसम्ममा चेतनामुलक सहित विभिन्न कार्यक्रम आयोजना गरी उपमहानगरलाई खुल्ला दिशामुक्त बनाईने नगर प्रमुख डा. पौडेलले बताए ।
ग्रामीण क्षेत्रको बस्तीमा शौचालयको समस्या देखिएकाले त्यस क्षेत्रलाई बढी प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको प्रमुख डा. पौडेलको भनाई थियो । एक घर एक शौचालयलाई अनिवार्य गरेर अघि बढ्ने भन्दै नगर प्रमुख डा. पौडेलले उपमहानगरको सरसफाईसंग जोडिएको बिषयलाई गम्भिरताका साथ लिनुपर्ने बताए । उपमहानगरले पहिलो चरणमा विभिन्न १० स्थानमा शौचालय बनाउने योजना ल्याएको र त्यसलाई केही समयमै कार्यान्वयन गर्ने उनको भनाई थियो । खुल्ला दिशामुक्त उपमहानगर बनाउनका लागि सम्पूर्ण कार्यपालिका नै गम्भिरताका साथ लाग्ने नगर प्रमुख डा. पौडेलले बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले खुल्ला दिशामुक्त उपमहानगर नभएसम्म समृद्ध उपमहानगरको कल्पना गर्न नसकिने बताए ।
डिभिजन खानेपानी सरसफाई कार्यालय बाराले सहजीकरण गरेको कार्यक्रममा युनिसेफका प्रतिनिधि हरि उपाध्याय, युएनह्याबिट्याटका अजय कुशवाहा, ईन्फोका केदार कोईराला, अजय नकर्मी, डिभिजन खानेपानीका गोपिलाल भगत, हिरालाल चौधरी, ईन्जिनियर रामभरोस चौधरीलगायतले सहजीकरण गरेका थिए ।

https://ankushdaily.com/