बिजय चौहान
वीरगन्ज, २१ पुस ।
प्रादेशिक राजधानीको माग गर्दै शुक्रबार देखी वीरगन्जमा रिले अनसन सुरु भएको छ । २ नंं. प्रदेशको प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनु पर्ने मांग राख्दै वीरगन्जको घण्टाघर चोकमा विहान ९ बजे देखी १२ घण्टे रिले अनशन सुरु भएको हो ।
नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरीको नेतृत्वमा रिले अनसन बसेका १२ जनालाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले फूलको माला लगाई अनशनको सुरुवात गराएका हुन ।
२ नं. प्रदेशको एक मात्र महानगरपालिका र अन्य जिल्लाको तुलनामा सबै भन्दा बढी पूर्वधारसंगै नेपालकै सबै भन्दा बढी राजश्व संकलन गर्ने भन्सारसंगै मुलुकको प्रमुख नाका समेत वीरगन्ज नैं रहेकाले प्रादेशिक राजधानी वीरगन्ज मै हुनु पर्ने माग आन्दोलनकारीहरुको रहेको छ । बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका बासिन्दाको समर्थनमा सुरु गरिएको रिलेअनसन वीरगन्जलाई प्रदेशिक राजधानी घोषणा नगरेसम्म जारी राखिने नेता चौधरीले जानकारी दिनुभयो । उहाँले रिलेअनसनबाट राजधानीको लागी सरकारले सम्बोधन नगरे आन्दोलनको स्वरुपलाई परिर्वतन गर्दै बजार तथा यातायात बन्द देखी अन्य कडा आन्दोलनका कार्यक्रम समेत गरिने नेता चौधरीले बताउनु भयो ।
राजधानीको मांगलाई लिएर चार जिल्लाका बासिन्दा आन्दोलित रहेकाले बहुमत जनताको भावनालाई सरकारले कदर गर्दै पूर्वधार युक्त वीरगन्जलाई प्रदेशिक राजधानी चाँडो घोषणा गर्नु पर्ने माग चौधरीले राख्नुभयो ।
वीरगन्जको घण्टाघर चोकमा निर्माण गरिएको पंडालमा जारि रहेको रिले अनसनमा बसरुदिन अंसारी, शम्भु प्रसाद गुप्ता, लोकेस सिंह, ओमप्रकास सर्राफ, दुर्गा क्षेत्री, कमल चौलागाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश्वर चौधरी र रंजु दहाल सहभागि रहेका छन् । आन्दोलन प्रति अनसन स्थलमा राखिएको पुस्तीकामा हस्ताक्षर गर्दै सर्वसाधारणले सर्मथन जनाइरहेका छन् ।