बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

50

काठमाडौँ, साउन – सहमतीय सरकारका लागि दिइएको ७ दिनको समयसीमा सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्न आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री चयनका लागि दलहरुलाई आह्वान गरेकी हुन्।  राष्ट्रपति भण्डारीले साउन १० गते सहमतीय सरकार गठनका लागि आव्हान गर्दै ७ दिनको समयसीमा दिएकी थिइन्।

राष्ट्रपतिले दिएको समयसीमा साउन १६ गते आइतबार सकिएपछि सोमबार बहुमतीय प्रक्रियाको आव्हान गर्दै संसदमा पत्राचार गरेकी हुन्।

यस्तै, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको आदेश तथा सोही संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउनको लागि राष्ट्रपतिले आह्वान गरेको उल्लेख छ।

नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। आज ३ बजे बस्ने बैठकले गत साउन १३ गते निधन भएका पहिलो संविधानसभाका सभासद तथा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको शोक प्रस्ताव पारित गर्ने छ। शोक प्रस्ताव पारित गरेपछि संसद बैठक स्थगित हुनेछ र सोमबार हुने दोस्रो चरणको बैठकले बहुमतीय पक्रियाबाट प्रधानमन्त्रीको चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने कार्यसूची रहेको छ।

https://ankushdaily.com/