अबुधाबीमा भव्य रुपमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने, मनोज भन्छन्-‘धाँधली हुँदैन’

44

पहिलो पटक अन्तरराष्ट्रिय रुपमा विदेशमा नेपाली म्यूजिक भिडियो अवार्ड आयोजना हुँदैछ । सेप्टेम्बर ९ अर्थात भदौ २४ गते यूएइको अवुधावीमा यो अवार्ड आयोजना हुन लागेको हो ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्डको तयारी र कार्यक्रम शैलीको बारेमा जानकारी दिइयो । संगीक्षा फिल्मस्को आयोजनामा यूएइको नमस्ते ट्राभल्स्ले अवार्ड आयोजनामा सहकार्य गर्नेछ ।

यूएइबाट पत्रकार सम्मेलनका लागि नेपाल आएका महेश गिरी र एकेन्द्र थापाले अवार्डको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै थापाले आफू यूएइ फर्किएपछि अवार्डको प्रचार र तयारी सुरु गर्ने बताए । उनले नेपाली कला र संकृतीलाई विदेशमा पनि अगाडि बढाउन अवार्डको आयोजना गर्न लागिएको जानकारी दिए ।

यस्तै, आयोजक मध्येका अर्का एक महेश गिरीले आफूले पनि म्यूजिक भिडियोमा अभिनय गरेको बताए । उनले दुबई, अवुधावीमा पुगेर बलिउड चलचित्रको छायांकन हुने, अवार्ड हुने भन्दै अब नेपाली म्यूजिक भिडियो अवाडले नयाँ शैलीको ढाँचा कोर्ने बताए । उनले यो अवार्ड म्यूजिक क्षेत्रको मात्र नभएर देशकै अवार्ड भएको बताए ।

संगीक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका मनोज केसीले चलचित्रपछि आफूले म्यूजिक भिडियोको अवार्डमा हात हालेको बताए । उनले आफूले पैसा कमाउन भन्दा पनि मलामी कमाउनका लागि यस्ता खालका कार्यक्रम गरेको बताउँदै अवार्डमा कुनै धाँधली नहुने स्पष्ट पारे ।

नेपाली म्यूजिक भिडियोको दुनियाँलाई विश्व बजारमा पुर्‍याउनका लागि यो अवार्डको सुरुवात गरिएको उनको भनाई थियो । पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा १७ विधामा अवार्ड प्रदान गरिदैछ । अवार्डमा सहभागी हुनका लागि ५० जनाको कलाकार र पत्रकारको टोली यूएइ पुग्नेछन् ।

अवार्ड आयोजना गर्न लागेको केसीका अनुसार यही अवार्डमा चलचित्र क्षेत्रका ४ जना हस्तीलाई पनि सम्मान गरिनेछ । उनका अनुसार गतबर्षको ‘पपुलर चलचित्र, पपुलर निर्देशक, पपुलर नायक र पपुलर नायिका’लाई सम्मान गरिनेछ । यस्तै, यूएइमा बसेर नेपाली संगीतमा लागिरहेका संगीतकर्मीलाई पनि सम्मान गरिनेछ ।

(२०७३ साउन १९ गते १०:५५मा आवधिक गरिएको)

https://ankushdaily.com/