यतिबेला नेपाली विद्यार्थी आन्दोलन र यसको सान्दर्भिकताबारे विविध कोणबाट बहस हुने गरेको छ । आजको नयाँ आवश्यकताअनुसार विद्यार्थी आन्दोलनलाई पुन:परिभाषित र पुनर्संगठित गर्न नसक्दा बिभिन्न बहसहरु सतहमा आउने गरेका छन् । आज विद्यार्थी एकातिर र विद्यार्थी संगठनहरु अर्कोतिर जस्तो देखिन थालेको छ । विद्यार्थी संगठनहरुमाथि समाजवाट र स्वयम् विद्यार्थी समुदायवाट कयौं प्रश्नहरु उठ्ने गरेका छन् । यी तमाम प्रश्नहरुको कठाघरामा उभिएर आज विद्यार्थी संगठन र यसका नेता कार्यकर्ताले जवाफ दिन तयार हुनुपर्छ ।
गौरवपूर्ण अतित
विद्रोह र परिवर्तनको धाराबाट आएको अखिल क्रान्तिकारी देशको एउटा प्रमुख र जिम्मेवार संगठन हो । नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा यो संगठन क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूलधारको रुपमा स्थापित छ । यसर्थ अखिल क्रान्तिकारी समग्र विद्यार्थी आन्दोलनको मूल प्रवाह पनि हो । योसँग युगान्तकारी परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गरेको गर्विलो इतिहास छ । यो लाखौं हजारौं विद्यार्थी नेता कार्यकर्ताको त्याग र बलिदानको जगमा खडा भएको संगठन हो । महान् साम्यवादी समाजको दर्शनमा संकल्पबद्ध भई मालेमाको बैचारिक पथप्रदर्शनबाट प्रेरित संगठन हो यो । सामाजिक परिवर्तनको महाअभियानमा १० वर्षे महान् जनयुद्धको अग्रदस्ताको भूमिका निर्बाह गरी २४० वर्षे सामन्ती राजतन्त्रलाई जरैबाट उखेलेर फ्याँक्ने नौजवान क्रान्तिकारीहरुको अग्रदस्ता पनि हो । यसले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समाबेसितासहित राज्यका सबै अंगमा उत्पीडित समुदायको समान हक, अधिकार स्थापनामा अहम् भूमिका खेल्यो । यसर्थ अखिल क्रान्तिकारी नेपालको विद्यार्थी आन्दोलनको अलग एबम् पृथक संगठन हो ।
विद्यार्थी आन्दोलनमा गर्बिलो इतिहास भएर मात्र पुग्दैन । समकालीन बिद्यार्थी आन्दोलनमा सबै हिसाबले उन्नत र फरक संगठनको पहिचान कायम गर्ने कुरालाई हामीले ध्यान दिनुपर्दछ । आज हामीले अनेरास्वबियु, नेबिसंघ भन्दा सबै कुरामा क्रान्तिकारी र अब्बल संगठनको रुपमा परिचित गराउन आवश्यक छ ।
आज अखिल क्रान्तिकारी नामका धेरै संगठनहरु यो वा त्यो रुपमा स्थापना भएका छन् । तिनिहरु मध्येको मूलप्रवाहको रुपमा हामीले आफूलाई प्रमाणित गर्नुपर्ने चूनौति हाम्रा सामू छन् । यो संगठनलाई सामान्य संसदवादी संस्कारमा लिप्त बुर्जुवा संगठनमा सीमित राख्ने छुट हामीलाई छैन । आफ्नै मौलिक इतिहासको जगमा फलाउने फूलाउने कुरा अहिलेको संगठनको मुख्य अभिभारा हो । तर आज निकै चुनौतिपूर्ण बन्दै गएको छ ।
हाम्रो संस्कार, पद्धति र प्रवृत्तिमा क्रमिक बिचलन र विश्रृङ्खलता देखापर्दै गएको छ । कहिलेकाही संगठनमा बिल्कुल अशोभनीय अराजकता, उदण्डता, मनपरितन्त्र र स्वेच्छाचारिता देखिन थालेको छ । एकले अर्कोको बिरोध मात्र होइन, असहयोग, लाइन वा गुट-उपगुटका आधारमा बार्गेनिङ, आत्मकेन्द्रित र ब्यक्तिवादी आचरण ब्यवहार तथा दण्डहिनता आदि कुराले कहिलेकाहीँ यो बलिदानीगाथा बोकेको अखिल क्रान्तिकारी हो वा के हो ? छुट्याउन गाह्रो पर्ने स्थिति पैदा भएको छ ।