पुस २६, २०७३- नेपाल र कतारबीच दौत्य सम्बन्ध कायम भएको ४० औं वर्षगाँठको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली मंगलबार कतार जाँदैछ । महत टोलीले कतारका अमिर शेख तमिम बिन अलथानी, समकक्षी शेख मोहममद बिन अब्दुल रहमान बिन जसिम अल–थानी, श्रम मन्त्री इशाबिन साद अल–जफैल अल–नुएमीसँग कूटनीतिक भेट तथा छलफल गर्नेछ ।
झन्डै चार लाख नेपाली कार्यरत कतारमा नेपालको उच्चस्तरीय संवाद नभइरहेको अवस्थामा यो भ्रमणले नेपाल र कतारबीच दुईपक्षीय सम्बन्धका आयामहरुलाई सृदुढ गर्न/गराउन निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानिएको छ । ‘लामो समयपछि कतारमा उच्चस्तरको औपचारिक भ्रमण हुन गइरहेको छ,’ कतारका लागि नेपालका पूर्वराजदुत सूर्यनाथ मिश्रले भने, ‘पछिल्लो समयमा धेरै विषय उठेका छन्, तिनलाई अगाडि बढाउन यसले योगदान पुर्याउनेछ ।’