भियतनाम, २५ वैशाख । अन्तर संसद् जलवायु परिवर्तनसम्बन्धी सम्मेलन भियतनाममा आगामी मे ११ देखि हुने भएको समाचार छ । सो सम्मेलनमा विश्वका विभिन्न देशका सांसदहरुको सहभागिता रहने बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा विश्वमा जलवायु परिवर्तनसम्बन्धी समस्या, यसले उत्पन्न गरेका चुनौतीका साथै अरु विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
उक्त सम्मेलनमा सन् २०३० सम्मका लागि तय गरिएको विश्वव्यापी दिगो विकास सम्बन्धी विषयमा छलफल गरिने छ । खासगरी सन् २०३० सम्ममा पूरा गर्नुपर्ने लक्ष्य तोकिएका ती दिगो विकास सम्बन्धी लक्ष्य हासिल गर्नका लागि आवश्यकपर्ने विभिन्न मापदण्डका बारेमा पनि कुराकानी हुने बताइएको छ ।
भियतनामका राष्ट्रिय समाचार समितिले दिएको समाचारअनुसार सो सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रीय राष्ट्रका सांसदहरुको सहभागिता रहने छ ।
यसलाई क्षेत्रीय सम्मेलनको रुपमा आयोजना गरिएको छ । उक्त सम्मेलनमा विशेषगरी विश्वमा बढ्दो चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनका बारेमा सांसदहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आवश्यक मात्रामा छलफल हुने जनाइएको छ ।
विश्वमा तेस्रो विश्वका देशले र विशेषगरी यस क्षेत्रका नागरिकले बढ्दो जलवायु परिवर्तका कारण के कस्तो समस्या भोगेका छन् भन्ने बारेमा पनि सो सम्मेलनमा नीति निर्माणका लागि सम्बन्धित सरकारलाई सहयोग गर्ने हिसाबले कुराकानी हुने जानकारी गराइएको छ ।
सन् २०१५ मा पनि यस अन्तर संसदीय युनियनको बैठक बसेको थियो । सो सम्मेलनले हनोइ घोषणा पत्र जारी गरेको थियो । सो घोषणापत्रले कामका लागि सबैको एकता नामक घोषणा पत्र पनि जारी गरेको थियो ।
विश्वमा जलवायु परिवर्तनको असरका बारेमा विश्वव्यापी रुपमा चासो व्यक्त गर्ने गरिएको छ । विश्वमा बढ्दै गएको भनिएको ग्लोबल वार्मिङबाट उत्पन्न असर कम गर्नलाई यी सम्मेलनको आयोजना गर्ने गरिएको छ ।
यसको प्रभावलाई कम गर्न तथा कार्बन उत्सर्जनको मात्रा कम गर्ने उपायको खोजी गर्न विश्वमा विभिन्न समयमा यस्ता सम्मेलनमा छलफल गर्ने गरिएको छ । रासस÷सिन्ह्वा