राष्ट्रियताको बहस र नागरिकको दायित्व

26

केशवराज पौडेल
सबै नेपालीको सच्चा आमा नेपाल आमा हुन् । राष्ट्रियताको मुहान पनि उनै हुन् । उनको महान सपना पुरा गर्नु, सबै नेपालीको साझा कर्तव्य हो । हिजो उनको अधिकारलाई शासकहरूले खोसे, राज्य र सेनालाई मैले आर्जेको भनेर निजि बनाए । गणतन्त्रको घोषणापछि सबै धर्म, वर्ग, जातजातीको साझा निर्वाचित राष्ट्रप्रमुख बनायौ । यसरी निजी राज्यलाई जनताको राज्य बनाउने अभियान, लोकतान्त्रिक संविधान कार्यान्वयन भएपछि पुरा हुदैँछ । आज राष्ट्रप्रमुख र सेनामाथी, जनताको अपनत्व र स्वामित्व बढिरहेछ । बिगतमा सेनाले गरेको योगदानलाई शासकहरूले आफ्नो स्वार्थमा उपयोग गर्थे । आज सेना स्वंय आफ्नो योगदानको हकदार भएको छ । यो सेनाको संस्थागत विकासको लागि महत्वपूर्ण कुरा हो । एक पहाडिको मधेशप्रति, एक बाहुनको लिम्बुप्रति, खसआर्यको, मङगोलियनप्रतिको पवित्र प्रेम नै राष्ट्रियता हो । जुनसुकै धर्म, वर्गको भएपनि, पहिला हामी नेपाली हौं । हिजो शासकहरूले आफ्नो शासनको रक्षाको लागि कुनै जातीलाई बढि च्यापे, कुनैलाई टाढा पारे । तर अब लोकतन्त्रमा कुनै पनि जाती धर्म, सांस्कृति कुन्ठित हुनुहुँदैन । सामुहिक एकताको मालालाई बलियो बनाउनु पर्दछ ।
लोकतन्त्र, राष्ट्रियताको बेग्लै मुलधार हो । हाम्रो देशमा २००७ सालपछि पनि लोकतन्त्र माथीको चुनौती समाप्त भएन । राज्यले बेग्लै राजनैतिक मुलधार लिन सकेन । राजासँग जोडिएको राष्ट्रियता तार्कीक निस्कर्षमा पुग्न सकेन । राजतन्त्र र लोकतन्त्र सँगैसँगै जान सकेनन् । नयाँ परिस्थिति र घटना निर्माण भयो । अब बल्ल राष्ट्रियता बारे नागरिकहरूले, नयाँ तरिकाले सोच्नु पर्ने बेला आएको छ । राजासँग राष्ट्रियतालाई जोड्ने सुविधा राजनैतिक रङगमञ्चमा, अब कसैलाई छैन । त्यसैले देशको राजनीति, नयाँ गन्तव्यतर्फ अगाडि बढ्दैछ । इतिहासले नयाँ मोड लिदैँछ । यो अवस्थामा दक्षिणपन्थी र बामपन्थी पार्टीहरू, जो राष्ट्रिय लोकतान्त्रिक आन्दोलनका हकदार हुन, राष्ट्रिय राजनितिलाई लक्ष्यन्मुख बनाउन उनीहरू, जो राष्ट्रिय लोकतान्त्रिक आन्दोलनका हकदार हुन, राष्ट्रिय राजनीतिलाई लक्ष्यन्मुख बनाउन उनीहरू जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने राष्ट्रिय आवश्यकता सिर्जना भएको छ । नेपालको राष्ट्रिय लोकतान्त्रिक आन्दोलनमा नेपाली जनताको त्याग, तपस्या र बलिदानको आफ्नै गौरवशाली श्रृङखला छ । यो अन्तर्राष्ट्रिय राजनैतिक आन्दोलनको न्यानो र रोमाञ्चकारी गाथा पनि हो । यसले हजारौ शहिदहरू निर्माण गरेको छ, अन्तर्राष्ट्रिय स्तरका नेतृत्वको पनि निर्माण गरेको छ । यो महान आन्दोलनलाई कसरी एउटा दिगो गन्तव्यमा पु¥याउने ! अन्तर्राष्ट्रिय मानचित्रमा भारत र चिन जस्ता क्षेत्रिय महाशक्ति राष्ट्रहरूबीच राजनितिक महत्वको रूपमा रहेको, यो सानो सुन्दर राष्ट्रमा राजनैतिक स्थायीत्व कायम गरेर कसरी यो राष्ट्रलाई आर्थिक विकासको बाटोमा दौडाउने ! अन्तर्राष्ट्रिय रूपमा चर्चित, नेपालीको यो गौरवमय त्याग, तपस्या र बलिदानलाई कसरी संस्थागत गरेर गरिमामय बनाउने ! इतिहास र भविष्यको सुन्दर संयोजन नै आजको हाम्रो राष्ट्रिय आवश्यकता बन्न गएको छ ।
राष्ट्रियताको संरक्षणको लागि सांस्कृतिक पाटो पनि उत्तिकै महत्वपुर्ण छ । हाम्रो गाउँघरमा पाइने ओदानका तिन खुट्टा भए जस्तै राष्ट्रियताको सांस्कृतिक पाटाका तीन खुट्टा हुन्छन् । यसमा धर्म, भाषा र संस्कृति पर्दछन् । दलित मधेशी, थारू आदि पछाडी परेका जातीको चेतनाको विकास उत्तिकै भइरहेको छ । समाबेसी राजनीतिले पनि सांस्कृतिक पक्षलाई बलियो बनाईरहेको छ । राष्ट्रियताको विकासको लागि आर्थिक पाटोको पनि धेरै महत्वपूर्ण भुमिका छ । मानिसहरूमा आर्थिक समृद्धि भएपछि आध्यात्मीक सन्तुष्टि बढ्ने, चाडपर्व, रहनसहन दैनिक जिवनको खानपानदेखि लवाईखुवाई सबै स्तरीय हुनुको साथै नागरीकहरूको बीचको सम्बन्ध पनि बलियो हुदै जाने रहेछ । समाजको सन्तुलित आर्थिक विकास नहुदा आतंकवाद बढ्ने, कट्टरतातर्फ समाज ढल्कने, धनी र गरिबको खाडल बढ्ने, भ्रष्टाचार बढ्ने आदि विकराल समस्याहरू सृजितहुने खतरा पनि उत्तिकै छ । त्यसैले आर्थिक क्रान्तीको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडी बढाउनु पर्ने चुनौती, राष्ट्रको पहिलो आवश्यकताको रूपमा हामी सामु उभिन पुगेको छ । आर्थिक विकासको लागि नेपाल आफैले पनि अथाह सम्भावना बोकेको छ । पर्यटन, विजुली, जडीबुटी, दुई ठुला शक्ति बिचको राजनीतिक अवस्था, कृषिको आधुनिक विकास, विदेशमा सीपयुक्त श्रमिकहरूको आपुर्ति आदिले अर्थतन्त्रलाई बलियो बनाउँदै लगेको देखिन्छ ।
हाम्रो राष्ट्रले अरू राष्ट्रसँग कसरी स्वभीमानीपुर्ण सङघर्ष गर्दछ ! यहाँको राजनैतिक नेतृत्वले कसरी अरू देशको राजनैतिक नेतृत्वसम्म सङघर्ष गर्दछन् ! जनताले कसरी अरू देशका जनतासँग सङघर्ष गर्दछन् ! राष्ट्रियताको विकास, त्यसमा पनि निर्भर गर्दछ । राष्ट्रियता, हाम्रो नैतिक विकाससँग पनि सम्बन्धित छ । नैतिक अडान, कमजोर भएका राष्ट्रहरू तथा नागरिकहरूको राष्ट्रियता कमजोर हुन्छ । राष्ट्रको केन्द्रमा, कस्ता व्यक्तिहरूले नेतृत्व गर्दछन् ! राष्ट्रको प्रशिक्षण र उत्प्रेरणा कस्तो छ ? नागरीक र नेतृत्वको स्वाभीमानको स्तर कस्तो छ ? यसले पनि राष्ट्रियतालाई बलियो र कमजोर बनाउन भूमिका खेल्दछ ।
राष्ट्रियता बलियो हुनको लागी पहिलो शर्त बैचारीक स्थायीत्व हो । सबैले टेक्ने साझा बैचारीक धरातल एउटै हुनुपर्दछ । जिम्मेबार नागरीकहरूले राष्ट्रिय स्वार्थको मुल्यमा त्याग पनि गर्न सक्नुपर्दछ ।
यो गौरवसाली राष्ट्र र इतिहासले निर्माण गरेका प्रभावसाली सार्वजनिक व्यक्तिहरू, हामी सवैका साझा धरोहर हुन । अब देशमा लोकतन्त्र (संविधान) भित्र सत्ता हुनुपर्दछ, सत्ताभित्र लोकतन्त्र होइन । एउटा गम्भीर अन्तर्राष्ट्रिय षडयन्त्र छ, नेपाल र नेपाली जनतामाथि, यो राष्ट्रको राष्ट्रिय राजनैतिक विचारधारा, राष्ट्रिय नेता र राष्ट्रिय चरित्र निर्माण हुन् नदिने । जनता, संसद र राष्ट्रलाई निर्णायक शक्तिका रूपमा उभिन नदिने, जनताका जनआन्दोलनलाई निर्णायक हुन नदिन, हाम्रो राष्ट्रको आत्मालाई एउटा निर्णायक गन्तव्य तर्फको यात्रामा राजनैतिक–वैचारिक स्थायीत्वका साथ अघि बढन नदिने । हिजो राजा र जनतालाई, आज दक्षिणपन्थि र बामपन्थीहरूलाई एउटा साझा गन्तव्यमा पुग्न नदिने ।
म सारा राजनैतिक तथा राष्ट्रका सम्पूर्ण नेतृत्ववर्गलाई अनुरोध गर्दछु, हामी संसदमा बस्छौं भने त्यहाँ टेकेको माटोप्रति सबै इमान्दार हुनुपर्दछ कि पर्दैन ! जनता संसद र राष्ट्र भन्दा अर्को आस्थाको केन्द्र, शक्तिकेन्द्र, अब कसैको छैन । यही साझा दृष्टि र गन्तव्यका साथ कथित अन्तर्राष्ट्रिय षडयन्त्रलाई चिरेर अगाडी बढ्नुको बिकल्प छैन । राष्ट्रियता बारे एउटै प्रोएक्टिभ दृष्टि निर्माण गर्नु नै नयाँ युगको एक मात्र माग हो । हामी बलियो राष्ट्रियता अर्थात बलियो राज्य निर्माण गर्न चाहन्छौ । दक्षिणपन्थि र बामपन्थीहरूको लोकतान्त्रीकरणले मात्र नेपालको राजनीति स्थायी लोकतान्त्रिक गन्तव्यमा पुग्दछ । अनि मात्र नेपालले स्वाभीमानी पुर्वक अन्तर्राष्ट्रिय रङ्गमन्चमा बलियो भुमिकाकासाथ प्रस्तुत हुन सक्दछ । (लेखक ः पूर्वमेजर, लोकतन्त्रवादी युवा नेता हुन् ।) (मधेश दर्पण फिचर सेवा)