नारायणी उप–क्षेत्रिय अस्पतालमा भ्याक्सिनको अभाव, सेवाग्राहीहरु मर्कामा

13

वीरगंज, २५ बैशाख ।  नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजमा कुकुर तथा जनावरले टोकेपछि दिइने एन्टीरेबिज भ्याक्सिनको अभाव भएको छ ।
नारायणी उप–क्षेत्रिय अस्पतालमा भ्याक्सिन अभाव भएपछि कुकुर वा जनावरले टोकेकोे बिरामीहरु मर्कामा परेका छन् । पर्सा, बारा तथा सिमावर्ती क्षेत्रका रोगीहरु उपचारको क्रममा आउने यस नारायणी उप–क्षेत्रिय अस्पतालमा एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि सेवाग्राहीहरु निजी औषधी पसलबाट महंगोमा भ्याक्सिन खरिद गर्न बाध्य भएका छन् ।
चाहिएको भन्दा आधा एन्टी रेबिज भ्याक्सिन मात्र जनस्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरेकोले भ्याक्सिनको अभाव हुने गरेको नारायणी उप–क्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुप्रिटेण्डेन्ट चित्ररञ्जन साहले बताउनु भयो । यस अस्पतालमा मासिक ८०० वटा एन्टी रेबिज भ्याक्सिन मा“ग रहेकोमा जम्मा ४०० थान एन्टी रेबिज भ्याक्सिन मात्र उपलब्ध गराइने भएकोले अभाव हुने गरेको उहाको दावी छ ।