काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल एवम् राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार नेपाली काँग्रेस, माओवादी केन्द, नेकपा एमाले र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा सोका लागि प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्नो अडानमा लचिलो बन्न आग्रहसमेत गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सो बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने र पारितसमेत गर्न लगभग सहमति भएको बैठकपछि नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिए ।
व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी जेठ ४ गते बस्दैछ । सो बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव पुनः पेस गर्दैछ । बैठकले काँग्रेसका सभापति शेरबहादुर देउवा एवम् प्रधानमन्त्री दाहाललाई संविधान संशोधनका गर्नका लागि सदनमा आवश्यक दुई तिहाइ मत पु¥याउन प्रमुख प्रतिपक्षी दललगायत अन्य दलसित वार्ता गर्न र सहमति जुटाउन जिम्मेवारीसमेत प्रदान गरेको छ । ‘दुई शीर्ष नेताले आजबाटै प्रमुख प्रतिपक्षी दलका नेता एवम् अन्य दलका नेतासित घनीभूत छलफल सुरु गर्नुहुनेछ’ , बैठकपछि माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भने । उनका अनुसार दलहरुबीच संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । बैठकमा आसन्न वैशाख ३१ गते र आगामी जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन सौहार्दपूर्ण ढङ्गल सम्पन्न गर्ने विषयमा पनि ती कुराकानी भएको थियो ।
बैठकमा नेता देउवा र प्रधानमन्त्री दाहालले विशेषगरी प्रमुख प्रतिपक्षी दललाई संविधान संशोधन गर्नका लागि सहयोग गर्न र मधेस केन्द्रित दललाई निर्वाचनमा जुट्न आह्वान गरेको नेता शर्माले जानकारी दिए । बैठकमा सहभागी एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल एवम् राजपाका बीचमा संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको जानकारी दिए । उनले भने–‘हाम्रो पार्टी संविधान संशोधनको विरोधी होइन, सबैलाई सर्वस्वीकार्य हुने गरी संशोधन आउनुपर्छ । यसमा पार्टीले सहयोग गर्छ ।’ सरकारले ल्याएको संशोधन प्रस्तावमा रहेका केही बुँदामा आफ्नो पार्टीको असहमतिसमेत रहेको उपाध्यक्ष गौतमले बताए । नेता गौतमका साथमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि सहभागिता थियो ।
तर राजपाका नेता राजेन्द्र महतोले तराई/मधेसमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गरेपछि मात्र आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिने बाटो खुला हुने बताए । उनले भने–‘सत्तारुढ दलहरुका नेता संविधान संशोधन गर्छु गर्छु भन्नुहुन्छ, खोइ त भएको ? हामीले बैठकमा स्पष्ट भनिदियौँ, अब पनि हामीलाई झुक्याउने र फकाउने काम भयो भने जेठ ३१ को स्थानीय निर्वाचनमा भाग लिँदैनौ ।’ नेता महतोले हालसम्म तराई/मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपूर्ति र बन्दी रिहाइ सरकारका तर्फबाट नभएको भनी असन्तुष्टिसमेत व्यक्त गरे । बैैठकमा प्रधानमन्त्री दाहाल काँग्रेस सभापति देउवा, एमाले उपाध्यक्ष गौतम, उपप्रधानमन्त्री विमलेन्द्र निधि, राजपाका नेता महन्थ ठाकुर, महतो, अनिल झालगायत नेता उपस्थितथिए ।