कानुन अभावमा निर्वाचित प्रतिनिधिले तत्काल जिम्मेवारी नपाउने

1

काठमाडौं । पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन ।

जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् । दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय तह र ७५ जिल्ला समन्वय समितिबाट गरी ३७ हजार ३ सय ३६ जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

तीमध्ये ३१ वैशाखमा हुने पहिलो चरणमा २ सय ८३ स्थानीय तहबाट निर्वाचित हुने १३ हजार ५ सय ५६ प्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था देखिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कानुन अभावमा ३१ वैशाखको निर्वाचनबाट छानिएर आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।