चीनको वान बेल्ट वान रोड अवधारणामा भयो  हस्ताक्षर

26

काठमाडौं । चीनले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपालले हस्ताक्षर गरेको छ। परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यु होङबीच काठमाण्डौंमा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितीमा सो हस्ताक्षर भएको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनसँग वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको थियो। दक्षिण एसियाबाट यसअघि श्रीलंका, बंगलादेश, पाकिस्तान सदस्य भइसकेका छन्। केही समयअघि चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले यसमा हस्ताक्षर गर्ने बचन दिएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए।

यसमा हस्ताक्षर भएसँगै चीनसित सीमापार रेल, राजमार्ग, बिद्युत् प्रसारण लाइन, बिशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलबिद्युत् परियोजना, औद्योगिक प्रबिधि, पार्क लगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ। चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत् नेपालमा चीनले लगानी गर्नेछ। यससँगै नेपाललाई चीन हुँदै तेस्रो मुलुकसँग पारवहन ब्यापार गर्न समेत सहज हुने भएको छ।