निर्वाचनमा मनी, मसल्स र माफिया

42

पहिलो चरणको स्थानीय तहको निर्वाचन बैशाख ३१ गते सम्पन्न हुदै छ । स्थानीय तहको निर्वाचनमा मनी , मसल्स र माफियामा हावी हुदै छ ।मनी मसल्स र माफियाका कारण स्थानीय तहको निर्वाचन भड्किलो र हिंसात्मक हुदै गएको छ ।
पहिलो चरणको निर्वाचनमा भएको हिंसात्मक गतिविधीका कारण एक जनाले ज्यान गुमाइसकेको छ । निर्वाचनमा उम्मेदवारले मतदाता आफ्नो पक्षमा पार्न जथाभावी खर्च गर्नाले निर्वाचन आयोगले तोकेभन्दा प्राय सबै उम्मेदवारले बढी खर्च गरिरहेका छन् । जसले गर्दा निर्वाचन ज्यादै भड्काउ भएको छ । स्थानीय तहमा स्थानीय सरोकार र स्थानीय मुद्दालाई लिएर निर्वाचन हुनु पर्नेमा मनी मसल्स र माफिया हावी हुनुले स्थानीय मुद्दा ओझेलमा पर्दै गएको छ ।
मनी, मसल्स र माफिया हावी भएको राजनीतिले देश आक्रान्त छ । इमान, जमान ,वाचा बन्धन वाचा गरुन्जेलको लागि मात्र भएको छ । विश्वास र भरोसा कतिबेला टुट्छ थाहा हुन्न । कुसंस्कार र कुरीति मात्र देशको नयाँ परिचय बनेको छ । देशलाई स्थानीय चुनाव लागेको छ । हिजो पद र पावरमा हुँदा कागजमा पुल पुलेसा बने तर सम्बन्धित ठाउँमा नहुने बिकासे नमूना दिनेहरु पुनः उम्मेदवार बनेर आइरहेका छन् ।
झन तराई क्षेत्रमा मनी मसल्स र माफिया हावी रहने कुनै पनि निर्वाचनमा यस पटकको स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा नहुने कुरै छैन । तराई क्षेत्रमा माफिया र मनीको कारण निर्वांचन ज्यादै बदनाम हुदै आएको छ । तराईमा निर्वाचनको बेला एक–आपसमा झडप भएर हरेक निर्वाचनमा जनधनको क्षति हुने गरेको छ । यस पटकको स्थानीय तहको निर्वाचनमा स्थानीय तहलाई बलियो बनाएका कारण उम्मेदवारहरु बीच झन तछाड–मछाड हुने निश्चित छ ।
एक भोट इमान्दार र सक्षम व्यक्तिलाई हाल्न हिचकिचाउने तर देश विकास भएन भनेर बकबकाउनुको कुनै अर्थ रहँदैन । यो समय भावनामा बगेर म यो पार्टीको कर्मठ र प्रतिवद्ध कार्यकर्ता हुँ भनेर जस्तोसुकै उम्मेदवारलाई भोट हाल्ने बेला होइन, समाज, देश र जनताको हितको लागि रक्षा गर्न सक्ने कर्मठ, इमान्दार र योग्य उमेदवारलाई एक भोट हाल्ने साहस देखाउने बेला हो । त्यसैले हतारमा निर्णय गरेर फुर्सदमा नपछुताऔं ।