फार्क र इएलएन लडाकूद्वारा राजनीतिक हिंसा अन्त्य गर्न आह्वान

38

हवाना, २९ वैशाख । कोलम्बियाका सबैभन्दा ठूला विद्रोही लडाकूको दुई ओटा समुहले राजनीतिक हिंसा छोडेर शान्ति सम्झौता कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
हवानामा संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले करिव ५० वर्षदेखिको द्वन्द्व अन्त्य गर्नेगरी भएको सम्झौता कार्यान्वयन गर्न आह्वान गरेका हुन् । क्रान्तिकारी सैन्य शक्ति, कोलम्बिया (फार्क) र राष्ट्रिय मुक्ती सेना (इएलएन)का शीर्ष नेताले कोलम्बियामा वास्तविक लोकतन्त्रलाई अगाडि बढाउन राजनीतिक हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । “कोलम्बियाको समाजमा सामाजिक न्याय र आत्मसम्मानका लागि यी दुई ओटा समूहको संयुक्त प्रयासमा केही काम हुन सक्छ,” पत्रकार सम्मेलनमा वितरित संयुक्त वक्तव्यमा लेखिएको छ ।
दुवै संगठनले हिंसात्मक द्वन्द्वलाई राजनीतिक तवरबाट समाधान गर्नका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।
शान्ति सम्झौताको कार्यान्वयनमार्फत् द्वन्द्व अन्य गरी मुलुकलाई थप राम्रो अवस्थामा पु¥याउन कोलम्बियाका अधिकांश जनताको समर्थन रहेको उनीहरुको भनाइ छ ।
गत वर्ष सन् २०१६ को सेक्टेम्बरमा कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोष र फार्कका मुख्य कमाण्डर रोड्रिगो लोन्डोनोले संयुक्त राष्ट्रसङ्घका तत्कालिन महासचिव बान की मुनको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । दुवै पक्षबीच गत २६ सेप्टेम्बरमा भएको शान्ति सम्झौतालाई २ अक्टोबरमा भएको जनमत सङ्ग्रहमा कोलम्बियाली जनताले अस्वीकार गरेका थिए । जनताले दिएको सुझावलाई समावेश गरिएपछि शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । प्रतिपक्षी दलका नेता अल्भारो उरिबे नेतृत्वको पार्टीले सम्झौताले विद्रोहीलाई विगतका अपराधबाट छुट दिन लागेको भन्दै विरोध जनाएपछि शान्ति सम्झौता अस्विकृत भएको थियो ।
झन्डै दुई लाख ६० हजारभन्दा बढीको ज्यान गएको द्वन्द्वलाई अन्त्य गरेको भन्दै उहाँलाई नोबेल शान्ति पुरस्कार समेत दिइएको थियो । रासस÷सिन्ह्वा