बिजय चौहान ।
वीरगन्ज,२८ बैशाख । कुख्यात भारतीय अपराधी बब्लु दुवे भनेर चिनिने मिथलेश दुवेको बिहिबार बेतिया अदालत परिसर भित्र गोली हानी हत्या भएको छ । भारत विहार मझौलियाका मुखिया जवाहर साहको हत्याको अभियोगमा दुबेलाई कडा सुरक्षाका बीच बेतिया अदालत परिसरभित्र मोटरसाइलमा आएका अज्ञात हतियार धारीहरुले सिढी ओर्लिने क्रममा अगाडीबाट गोली प्रहार गरी हत्या गरेका हुन ।
अज्ञात हतियार धारीले चलाएको गोली लागि भारत विहार पूर्वीचम्पारण कल्याणपुर मोतिहारी निवासी ३४ वर्षिय दुवेको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा पा“च वटा गोली लागेको थियो । दुवेको घटना स्थलमै मृत्यु भएको बेतियाका एसपी बिनय कुमारले संचारकर्मीहरुलाई जानकारी दिएका छन् । घटनामा संलग्न अभियुक्तहरुको खोजि कार्य भईरहेको बेतिया प्रहरीले जनाएको छ । दुबेको शवलाई परिक्षणकालागि सदर अस्पताल बेतियामा राखिएको छ ।
भारत विहार पूर्वीचम्पारण कल्याणपुर मोतिहारी निवासी दुवे सिमाक्षेत्रमा हत्या, अपहरण, डकैती जस्ता अपराधलाई संस्थागत रुपमा संचालन गर्ने अपराधी हुन । दुबेले पिपुल्स लिबरेसन आर्मी नामक अपराधी संगठनको स्थापना गरी सिमावर्ती नेपाली जिल्ला बारा, पर्सा, रौतहट, सर्लाहीमा रहेका व्यापारीबाट अबैध रकम असुली गर्दै आएका थिए । असुली धन्धालाई बढाउन उनले र उनको निर्देशनमा तीन दर्जन भन्दा बढी हत्या गरिएको दुवे स्वयंले नेपाली संचारकर्मी समक्ष स्वीकार गरेका थिए ।
२०७० साल जेष्ठ १४ गते काठमाण्डौंको सितापाइलाबाट अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले पक्राउ गरी सार्वजनिक गर्दा दुवेले आफ्नै हातबाट ६ जनाको र आफुले दिएको निर्देशनमा संगठनका सदस्यहरुले ३० वटा भन्दा बढी हत्या गरेको संचारकर्मीलाई बताएका थिए । उनले सिमावर्ती भारतीय शहर रक्सौल, आदापुर, मोतिहारी, रामगढवा, सुगौली, बेतिया, बगहा लगायतका क्षेत्रमा अबैध असुली, अपहरण, हत्या र फिरौती गरेको संचारकर्मीलाई बताएपनि नेपाली सिमाना भित्र कुनै अपराध नगरेको दावी गरेका थिए ।
अञ्चल प्रहरी कार्यालय नारायणीका तत्कालिन प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल नेतृत्वको टोलीले काठमाण्डौबाट पक्राउ गरी जेष्ठ १५ गर्ने वीरगन्जमा सार्वजनिक गर्दा माथि उल्लेखित जानकारीहरु दुवेले संचारकर्मीहरुलाई दिएका थिए ।
वीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा समेत बब्लु दुवेकै हात भएको भारतीय प्रहरी र टि.भी. च्यानलहरुले दावी गरेको थियो ।
दश करोडको फिरौतीपछि केडियालाई नाटकीय पारामा अपहरण मुक्त गरिएको थियो । केडिया अपहरणको बेला कारागार भित्र रहेका दुवेले सम्पूर्ण तानाबाना बुनेकोले उनलाई नेपाल बुझाउन नेपाल प्रहरीले भारतीय प्रहरी समक्ष अनुरोध समेत गरेको थियो ।