भोट हाल्न आतुर छन् मतदाता

11

रत्ननगर (चितवन), २९ वैशाख । फिल्म निर्माता तथा पत्रकार रवि अधिकारीले भरतपुर महानगर वडा नं ५ तोरीखेतमा रहेको मतदान केन्द्रबाट आज अस्थायी मतदाता परिचयपत्र लिनुभयो । उहाँले नागरिकताका आधारमा आफूसँगै बुबा बृखबहादुर, आमा लीलावती, दिदी सम्झना र भिनाजु जङ्गबहादुर कुँवरको परिचयपत्र झिक्नुभयो ।

अधिकारी भन्नुहुन्छ – “स्थानीय निकायको निर्वाचन दुई दशकपछि हुन लागेकाले आफ्नो गाउँको विकास गर्ने नेता छान्नका लागि भोट हाल्न व्यग्र चाहना छ ।” भोट हाल्न आतुर रहेको बताउँदै अधिकारीले अरुलाई पनि आफ्नो मतदान गर्ने अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । अब जितेर आउने जनप्रतिनिधिले गाउँठाउँको विकास गर्लान् भन्ने उहाँलाई ठूलो आशा छ ।

भरतपुरकै लक्ष्मी विकले पनि आजै मतदाता परिचयपत्र लिनुभयो । उहाँले श्रीमान् र छोराको समेत मतदाता परिचयपत्र आफैले लिनुभयो । “मतदान त गर्नै प¥यो नि, त्यही भएर गर्मी नभनीकन परिचयपत्र लिन आएको हो,” उहाँले भन्नुभयो ।

दुई हजार ८९१ मतदाता रहेको तोरीखेतको मतदानस्थलमा तीनवटा मतदान केन्द्र रहेका छन् । चर्काे घाममा मतदाताले लामो लाइनमा लागेर मतदाता परिचयपत्र लिए । तेरीखेतको बुथमा दुई हजार ८९१ मतदातामध्ये आजसम्म ५० प्रतिशत भन्दा बढीले परिचयपत्र लिइसकेका ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत कृष्ण रायमाझीले जानकारी दिनुभयो ।

‘क’ मतदान केन्द्रका मतदान अधिकृत दीपककुमार दास नाता खुलेको कुनै पनि प्रमाणका आधारमा परिवारका सदस्यले परिचयपत्र लिन सक्ने बताउनुहुन्छ । कुनै प्रमाण फेला नपरेमा सर्वदलीय निर्णय गरेर प्रमाणित गरेपछि परिचयपत्र दिने गरेको उहाँले बताउनुभयो ।

कुनै समस्या परेमा दलहरुका स्थानीय प्रतिनिधिसँग परामर्श गरेर निर्णय गर्ने जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउनुहुन्छ । उहाँले आज नारायणी, बालकुमारी, मङ्गलपुरलगायत क्षेत्रका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुभयो ।

जिल्लामा तीन लाख १३ हजार दुई मतदाता रहेका छन् । “आजसम्ममा ५० प्रतिशत भन्दा बढीले मतदाता परिचयपत्र लिइसकेका छन््,” ढकालले भन्नुभयो । चितवनमा एक महानगरपलिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सातवटा स्थानीय निकाय रहेको छ । यहाँ ५०४ जना जनप्रतिनिधिका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ । रासस