सर्वाधिक पुरस्कारको प्रधानमन्त्री कप पुरुष क्रिकेट हुने

8

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा ‘प्रथम प्रधानमन्त्री कप’ एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जेठ ९ गतेबाट सुरु हुने भएको हो । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्स्म्यान र बलरले समान ५० – ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । जेठ १४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रसहित विभागीय टोलीहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने बिहिबार पत्रकार सम्मेलनबाट आयोजकले जनाएको हो । लिग कम नकाउटका अधरमा हुने प्रतियोगिता किर्तिपुरस्थित त्रिभुवन बिश्वबिध्यालयको टियु क्रिकेट मैदानमा संचालन हुने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिने छ । प्रत्येक समुहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसंगको खेलको छनोट र तयारीको रुपमा यस प्रतियोगिता आयोजना गरेको राखेपले बताएको छ। यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा हङकङसँगको लागि खेलाडी चयन गरिने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको लागि राखेपले २५ लाख छुट्टाएको राखेप सदस्यसचिव केशव कुमार बिष्टले जानकारी दिए । रुस्लान क्रिकेट मुख्य प्रायोजक रहेको प्रतियोगितामा सहभागी हुने टोलीलाई तयारी खर्चको लागि ५० हजार प्रदान गरिने समेत सदस्यसचिव बिष्टले जानकारी दिए । यस्तै सदस्यसचिव बिष्टले नेपालमा पछिल्लो तीन बर्षबाट एक दिवसीय क्रिकेट हुन् नसकेको र क्रिकेट बिकासमा थप टेवा पुगोस भन्ने उदेश्यले प्रतियोगिता योजना गर्न लागेको बताए । प्रतियोगिताको लागि मुख्य प्रायोजक रुस्लानले नगद २५ लाखसहित खेल सामग्रीलगायतका समाग्री उपलब्ध गराउने छ भने प्रायोजक सिटिजन बैंक र अनलाइन पार्टनर इसेवाले समान ३ – ३ लाख उपलब्ध गराउने छन् । प्रतियोगिताको व्यवस्थापनको जिम्मा काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर र टिकट, खेलाडी दर्ता लगायतको काम ईसेवाले गर्ने छ ।