ढुक्क भएर मतदानमा सहभागि हुन गृहमन्त्री निधीको आह्वान, भोली दिनभर आफै सुरक्षा अनुगमनमा

33

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भोली हुने स्थानिय तहको पहिलो चरणको निर्वाचनमा मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पैदल मार्ग, हवाई गस्ती र हाइ प्वाइन्ट ड्युटीसमेत गरी सम्पूर्ण सुरक्षा प्रबन्ध गरेको बताएका छन्। उनले ढुक्क भएर मतदानमा सहभागि हुनका लागि आम मतदातालाई अनुरोध समेत गरे । गृहमन्त्रालयको उच्च स्रोतका अनुसारको मतदान हुने ३४ जिल्लाको सुरक्षा अवस्थाको गृहमन्त्री नीधिले आइतवार दिनभर सुरक्षा महाशाखामा तथा नेपाल प्रहरीको कन्ट्रोल महाशाखामा आफै बसेर अनुगमन गर्ने तयारीमा छन् ।

गृह मन्त्रालयमा चुनावको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री निधिले स्थानीय तहमा समेत आवश्यक पर्ने सबै सुरक्षा प्रबन्ध मिलाइएको बताए। २२ हजार ५ सय ७५ जना प्रहरी, २२ हजार ६०२ जना म्यादी प्रहरी र १७ हजार ३५६ जना सशस्त्र प्रहरीसहित ३८३ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहने र त्यसलाई थप ५ हजारको जनशक्तिले रिइन्फोर्स गरिने उनले जानकारी दिए।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ। ‘मत खसाल्ने काम सम्पन्न भएपछि मतपेटिकालाई मतगणनास्थलसम्म सुरक्षित लैजान स्कर्टिङको व्यवस्था गरिएको छ,’ मन्त्री निधिले भने, ‘मतगणनाको कार्यालयमा पनि सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।‘ मतगणनाको परिणाम घोषणापछि विजय जुलुस, र्‍याली र सभालाई पनि बलियो सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए। ‘सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर आफ्नो मतको प्रयोग गरी यस निर्वाचनलाई सफल पार्न सबै दिदीबहिनी दाजुभाइसँग हार्दिक अपील गर्छु’, उनले भने।

https://ankushdaily.com/