काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सक्रिय रुपमा चुनावमा भाग लिएर आफ्नो मताधिकारको प्रयोग गर्न अपिल गरेका छन्। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शनिबार एक अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनलाई जनताले प्राप्त गरेका सार्वभौम अधिकारको रुपमा उल्लेख गर्दै मताधिकारको प्रयोग गर्न अनुरोध गरेका हुन्।
बीस वर्षपछि भएको नभएर नेपालको इतिहासमै पहिलो पटक स्थानीय निर्वाचन हुन थालेको भन्दै उनले निर्वाचनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए। यो निर्वाचनले सिंहदरबारमा केन्द्रित रहेको अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुल्ने उनको भनाइ छ।
चुनावका लागि शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा निर्धक्क भएर मताधिकारको प्रयोग गर्न अनुरोध गर्दै उनले भने, ‘शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको छ। तसर्थ सबै मतदाता दिदीबहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र विनासंकोच निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु।’
अपिलमा निर्वाचनमा खटिएका कर्मचारीलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देश गर्दै रनजीतिक दल, सञ्चर माध्यमहरु र सरोकारवालाहरुसँग सहयोगका लागि अनुरोध गरिएको छ। निर्वाचनको दिनलाई महाउत्सवका रुपमा उल्लेख गर्दै अपिलमा भनिएको छ, ‘सिंगो देश सहभागी भएको लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न आवश्यक छ। भोलि केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो।’
निर्वाचनबाट ४० प्रतिशत महिला चुनिएर आउने भन्दै उनले महिलाको सशक्तिकरण र नेतृत्व विकासमा यो निर्वाचन कोशेढुंगा हुने उल्लेख गरेका छन्। त्यस्तै दोस्रो चरणको निर्वाचनमार्फत मधेसी थारु र आदिवासीको सहभागिता सुनिश्चित हुने भन्दै उनले ती प्रदेशका नतालाई पनि आफ्ना प्रतिनिधि चुन्ने कार्यमा लग्न अपिल गरेका छन्।
अपिलमा दोस्रो चरणको निर्वाचन पनि तोकिएकै मितिमा हुने उल्लेख गर्दै निर्वाचनका लागि अन्तराष्ट्रिय समुदायबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत व्यक्त गरिएको छ।