एजेन्सी – फुटबल क्लब बार्सिलोनाका प्रवक्ता जोसेप भिभेसका अनुसार लियोनेल मेस्सी छिट्टै बार्सिलोनासंग नयाँ अनुबन्धनमा हस्ताक्षर गर्ने तयारीमा छन्। २९ वर्षीय अर्जेन्टिनी फुटबलर मेस्सीको जारी करार अर्को वर्षको जुन महिनामा समाप्त हुँदैछ र बार्सिलोनाले केहि समयदेखि मेस्सीसंग यसबारे कुरा गरिरहेको छ। कुनै समय मेस्सीले पेप गुआर्डीओलासंगै म्यानचेस्टर सिटि जाने हल्ला चलेको थियो भने पेरिस सेन्ट जर्मनका मालिकले मेस्सीले चाहेको खण्डमा आफु जति पैसा खर्च गर्न पनि तयार रहेको अभिव्यक्ति दिएका थिए। मेस्सीले लामो समयदेखि आफ्नो करियर अर्जेन्टिनाको क्लब नेवेल ओल्ड ब्वाइजमा सकाउने योजना बनाएका छन्। मेस्सी नेवेल ओल्ड ब्वाइजबाट बार्सिलोना आइपुगेका थिए। तर, उनले अझै केहि वर्ष युरोपमै खेल्ने र बार्सिलोना नछाड्ने पक्का रहेको बार्सिलोनाले बताउँदै आएको छ। मेस्सीले बार्सिलोनासंग नयाँ सम्झौताअनुसार प्रत्यक हप्ता ४ लाख ८५ हजार पाउण्ड कमाउनेछन्। उनले पाउने पैसा ट्याक्स तिरेपछि बाँकी हुन आउने रकम हुनेछ। मेस्सीले केहि समयदेखिनै कुरा भएपनि सम्झौता गर्न भने केहि समय लिएको बार्सिलोनाका प्रवक्ता जोसेपलले बताए।