रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई दिने  तयारी

6

काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पले भत्किएको काठमाडौंको दशरथ रंगशाला पुननिर्माणको जिम्मा सेनालाई दिने तयारी थालिएको छ । नेपालले दुई वर्षपछि आयोजना गर्नुपर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि रंगशाला तयार गर्नुपर्ने भएकाले पुनर्निर्माणको जिम्मा सेनालाई दिइन लागिएको हो ।

अहिलेकै गतिमा रंगशालाको पुनर्निर्माण जारी राखे १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सञ्चालन गर्दासम्म पनि नसकिने भएकाले सेनालाई पुनर्निर्माण गर्न दिइन लागिएको खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न गर्न मिल्ने गरि द्रुत गतिबाट रंगशालाको पुनर्निर्माणका लागि सेनालाई जिम्मा दिने विषयमा खेलुकुद मन्त्रालयले प्रस्ताव तयार पारिसकेको छ । अब मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव स्वीकृत गरे सेनाले रंगशालाको पुनर्निर्माण थाल्ने छ ।
मन्त्रालयका अधिकारीका अनुसार रंगशालाको पुनर्निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाली सेनाबीच छलफल चलिरहेको छ । साथै भूकम्पबाट रंगशालामा भएको क्षतिको विषयमा पनि नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । क्षतिको मूल्याङ्कन भइसकेपछि राष्ट्रिय खेलकुद परिषद र सेनाबीच रंगशालाको पुनर्निर्माणका लागि सहमति हुने छ । मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गरे सेनाले औपचारिक रुपमा रंगशालाको पुनर्निर्माण थाल्ने छ ।

भूकम्पले देशको एकमात्रै अन्तर्राष्ट्रियस्तरको रंगशालाको अधिकांश भागमा क्षति पुगेको थियो । राष्ट्रिय खेलकुद परिषदले रंगशाला पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) गरेर टेण्डरमार्फत पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरेको थियो । अब उक्त प्रक्रिया स्थगित गरेर पुनर्निर्माणको जिम्मेवारी सेनालाई दिइने छ ।