डिआईजीको निर्देशनमा तस्करीको लाईन खुल्ला

4

वीरगंज, ६ जेष्ठ ।
विगत केही दिनदेखि बन्द भएको तस्करीको लाईन पुन: खुल्ला भएको छ । पर्सा जिल्लाको विभिन्न नाकाबाट राती ११ बजे देखि बिहान ४ बजेसम्म तस्करी गर्ने ‘लाईन’ दिइएको छ । पर्साको छपकैया, इनर्वा, जानकीटोला, भिस्वा, अमरपट्टी नाकाबाट रातभरी तस्करहरुले समान ओसार–पसार गरेर सो क्षेत्रमा बसोबास गर्ने स्थानीय जनताको निंद्रा हराम गर्न थालेका छन् ।
मध्य क्षेत्रीय प्रहरी कार्यालयका डि.आइ.जी गणेश केसीको ठाडो निर्देशनमा यस क्षेत्रबाट लाईन खोलिएको बताइन्छ । वीरगंज देखि जनकपुर सम्मका तस्करहरुसंग पैसा असुल्न भु.पु. सई बच्चु राउतलाई केसींले खटाएका छन् । केसी सर्लाहीमा एसपी छदा बच्चु उनका घुमुवा थिए । अहिले बच्चुमाथि कुनै कानुन नलाग्ने र प्रहरी संगठनभित्र बदनाम पनि नहुने ठानी बच्चुलाई खटाइएको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका हाकिमहरुले पैसा संकलनको लागि हवल्दार बिजय यादवको नेतृत्वमा घुमुवा टोली परिचालन गरेका छन् । सो टोलीमा सप्तरी दरबन्दी रहेका प्रहरी हवल्दार सत्यनारायण मिश्रा, रामेछाप दरबन्दी रहेका नन्दन मण्डल र दोलखा दरबन्दी रहेको प्रहरी जवान राजु गुप्तालाई राखिएको छ । सादा पोशाकमा खटिने यी घुमुवा प्रहरीहरु दिनभर असुलीमा व्यस्त रहन्छन् ।
अञ्चल प्रहरी कार्यालयले प्रहरी हवल्दार महम्मद हुसेन र हवल्दार रामबाबु यादवलाई रकम संकलनको लागि खटाएको छ । प्रहरी हवल्दार महम्मद हुसेन पटक–पटक निलम्बन र कारवाहीमा पर्दै आएको बदनाम प्रहरीको रुपमा चिनिन्छन । सिमरा इलाका प्रहरी कार्यालय बाराले पनि असई राजहरन यादवको नेतृत्वमा घुमुवा टोली परिचालन गरेको छ । विगत आठ वर्षदेखि उनी सोही ठाउँमा कार्यरत भएर असुलीमा व्यस्त छन् । उनको दरबन्दी मकवानपुरमा रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको देखासिकी वडा प्रहरी कार्यालय बिर्ताले पनि असई अरबिन्द कुमार यादव र प्रहरी जवान बिजय यादवको टोली बनाएको छ । असई यादवको दरबन्दी काठमाण्डौ जिल्लामा रहेको छ ।
पर्साबाट अहिले हरेन्द्र पटेल, हरदेव यादव, जटाधारी, धमेन्द्र, सुखाडी पटेल, मुखियाजी, देवेन्द्र साह, शम्भु साह, सानो भोला र लखीचन यादवको धुवाँधार ‘लाईन’ चलिरहेको छ ।