पिडीत मजदुरद्वारा पत्रकार सम्मेलन

42

मनोज शाह
जितपुर (बारा), ६ जेष्ठ ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको इष्टर्न टेक्सटाइलमा कार्यरत मजदुरहरुले कम्पनीका मालिकले आफूहरु विरुद्ध अन्याय गरेको भन्दै न्याय दिलाईदिन माग गरेका छन् । बन्द उद्योगको मूल गेटमा शनिवार विहान पत्रकार सम्मेलन गरि उक्त उद्योगमा कार्यरत ४७ जना मजदुरहरुले कम्पनीले सरकारको नियम कानुनको धज्जीया उडाउँदै मजदुरमाथी अन्याय गरेकाले न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
मजदुरहरुका तर्फबाट वीरगञ्ज स्थित श्रम कार्यालयमा दिईएको निवेदन विचाराधिन अवस्थामा हुँदा हुँदै कम्पनी प्रशासनले आफू निकटका सिमित मजदुरहरुलाई मात्र राखी २०७१ साल फागुन २७ गते गरेको सहमती आफूहरुलाई मान्य नभएको र श्रम कार्यालयका प्रतिनिधी समेत नराखि गरिएको उक्त सहमतीको औचित्य नहुने मजदुरहरुको भनाई छ । कम्पनी प्रशासन विरुद्ध पिडित मजदुरहरुले २०७१ साल असोज २७ गतेनै श्रम कार्यालयमा विभिन्न माग सहित निवेदन पेश गरेका थिए । श्रम कार्यालय वीरगञ्जमा कम्पनीमा कार्यरत मजदुर रामबाबु राम पासवान सहितका २० जना मजदुरले कम्पनीलाई विपक्षी बनाई पेश गरेको निवेदन उपर छलफल गरि कार्यालयले कम्पनीमा कार्यरत मजदुरहरुको माग बमोजिम तलब भत्ता तथा सुविधा दिलाई काममा निरन्तरता दिन आदेश समेत दिएको थियो । कार्यरत मजदुरहरुले २०७१ सालको आषाढ देखी असोज सम्मको पारिश्रमिक, दशैं खर्च, विदा रकम, संचयकोष, विमा रकम, मृत्यु भएका कामदारको हरहिसाब, राजिनामा दिएकाको हरहिसाब समेत अनुचित ढंगबाट कम्पनीले रोक्का गरेको भन्दै उक्त रकम दिलाईदिन श्रम कार्यालयमा निवेदन दिएका थिए । कार्यालयका तत्कालिन प्रमूख राधेश्याम झाले गरेको निर्णय कम्पनीले कार्यान्वयन नगरेकाले सरकारी ऐन कानुनको धज्जी उडाउने कम्पनी प्रशासनलाई कार्वाही गर्न समेत उनीहरुले माग गरेका छन् । २०७३ साल वैशाख १६ गते कार्यालयले गरेको फैसलामा निवेदक मजदुरहरुको माग जायज रहेको उल्लेख छ ।
‘श्रम ऐन २०४८ को संसोधन सहितको दफा २५ को उपदफा ३ बमोजिम निवेदकहरुले माग गरे बमोजिम मिति २०७१ साल आषाढ देखि हाल सम्मको तलब, भत्ता, दशैं खर्च एवं अन्य भत्ता समेत भुक्तानी दिनुपर्ने निर्णय ठहर गरियो’ निर्णयमा भनिएको छ ।
स्थायी कामदारलाई प्रतिष्ठानले काममा लगाए वापत पारिश्रमिक तथा नियमानुसार पाउने संचयकोष एवं अन्य भत्ता समेत दिनुपर्ने श्रम कार्यालयको निर्णयमा उल्लेख छ ।
श्रम कार्यालयले गरेको निर्णय चित्त नबुझे निर्णए भएको मितिबाट ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न सक्ने समयसिमा समेत गुजारेको कम्पनी प्रशासनले आफूहरुको माग नसुनेको मजदुरहरुले गुनासो गरे । नियमानुसार कुनैपनि उद्योग तथा व्यवसाय स्थायी वा अस्थायी रुपमा बन्द गर्नुअघि श्रम कार्यालयको स्विकृती लिनुपर्ने व्यवस्था छ तर इस्टून टेक्सटाइलले कम्पनी बन्द गर्ने विषयमा कुनैपनि जानकारी सरकारी निकायलाई गराएको छैन ।
स्रोतका अनुसार कम्पनीले ४७ जना मजदुरलाई कुनैपनि सेवा सुविधा उपलव्ध नगराई कम्पनी सदाका लागि बन्द गर्ने तयारी गरिरहेको छ । यस सम्बन्धमा कम्पनीका सञ्चालक पक्ष संग बुझ्न खोज्दा उनीहरुले प्रतिकृया नजनाउने बताए ।

https://ankushdaily.com/