भलिबल अब नेपालको राष्ट्रिय खेल

26

काठमाडौं –  नेपालको राष्ट्रिय खेल बनाउने भन्ने बहस टुंगिएको छ । नेपालका लागि माटो सुहाउँदो खेल भनेर चिनिने भलिबलले राष्ट्रिय खेलका रुपमा मान्यता पाएको छ । मन्त्री परिषद्को सोमबार बसेको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेल मान्ने निर्णय गरेको छ । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र यसको व्यापक पहुचकै आधारमा भलिबललाई राष्ट्रिय खेल बनाउने पर्ने भन्दै नेपाल भलिबल संघले लामो समयदेखि माग गर्दै आएको थियो । युवा तथा खेलकुद मन्त्रालयको सुझावका आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका थिए । नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ हुँदादेखि नै भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिनुपर्ने भन्दै सुझाव तथा हस्ताक्षर संकलन समेत गरिएको थियो। अहिले मनोरञ्जन रमन शर्माको पालमा आएर त्यो पूरा भएको छ।
विगत तीन वर्षदेखि नेपालको राष्ट्रिय खेल कुन भनेर गरिदै आएको प्रश्नको अन्त्य पनि सरकारले हिजोदेखि गरिदिएको छ।
करिब ३ वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यसअसघि राष्ट्रिय खेल भनिदै आएको डन्डीबियोलाई पछि पारेको हो।
सरकारको निर्णयले भलिबलप्रेमी दर्शक, खेलाडी, भलिबल संघ, पदाधिकरी सबै उत्साहित बनेका छन्।