आन्दोलन कि निर्वाचन भन्नेबारे राजपामा विवाद, ठोस निर्णय आज

42

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पार्टीभित्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने या बहिष्कार गरी आन्दोलन घोषणा गर्ने भन्नेमा विवाद देखिएको छ । नेताहरूबीच दुईवटा बाटामध्ये कुन भन्ने विषयमा एकजुट हुन नसकेपछि बुधबार बसेको अध्यक्ष मण्डलको बैठक विनानिष्कर्ष सकिएको छ । पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको तर कुनै निष्कर्ष ननिस्किएको जानकारी दिए ।

‘पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको छ, कुनै निष्कर्ष निस्किएको छैन,’ महतोले भने ‘पुनः बिहीबार बिहान ११ बजे अध्यक्ष मण्डलको बैठक बसेर एउटा ठोस धारणा बनाउने प्रयास गर्नेछौँ । आन्दोलनमा जानुपर्छ भन्ने दबाब भए पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा जानुपर्छ भन्ने धारणा पनि नेताहरूमा देखिएको छ ।’

अध्यक्ष मण्डलका केही सदस्य प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आफ्नो जनाधार बलियो बनाएर थप माग पूरा गर्न दबाब दिन निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका छन् । केही सदस्य आफूहरूले उठाएका सबै माग पूरा नहुँदै निर्वाचनमा जान नहुने पक्षमा देखिएका छन् । बैठक स्रोतका अनुसार अध्यक्ष मण्डलको बैठकमा सदस्यद्वय सरतसिंह भण्डारी र महेन्द्र राय यादवले ग्राउन्ड रियालिटी जोगाई थप सशक्त भएर बाँकी माग पूरा गराउन दबाब दिन निर्वाचनमा जानुपर्ने बताएका छन् । सदस्य राजकिशोर यादवले निर्वाचनमा जान नहुने, तत्काल आन्दोलन घोषणा गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

राजेन्द्र महतो एक साता आन्दोलन घोषणा गर्ने र आन्दोलनका कार्यक्रम अघि बढाएर पछि सहमति गर्दै निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा देखिन्छन् । अध्यक्ष मण्डलको नेतृत्व गरिरहेका महन्थ ठाकुर र अनिल झाले आफ्नो स्पष्ट धारणा राखेका छैनन् । अन्य दोस्रो तहका नेताहरू सर्वेन्द्रनाथ शुक्ल, केशव झा, मनीष सुमनलगायतले थप जनमत ल्याएर अन्य माग पूरा गर्न दबाब दिन निर्वाचनमा जानुपर्ने धारणा राख्दै आएका छन् ।

https://ankushdaily.com/