राजश्व ८० करोड भन्दा बढी न्युन

32

वीरगन्ज,११ जेष्ठ ।
भारत तथा तेस्रो मुलुकबाट नेपालका लागि वीरगन्ज नाका प्रयोग गरी हुने वाहनको आयात कम भएपछि सोको सिधा असर भन्सार कार्यालयको राजश्व सङ्कलनमा परेको छ । बैंक तथा वित्तीय संस्थाले नयाँ सवारीमा कर्जा लगानी घटाएपछि त्यसको प्रत्यक्ष असर वीरगन्ज भन्सार कार्यालयको राजश्व असुलीमा परेको हो ।
चालु आर्थिक वर्षको बैशाख महिनाका लागि भन्सार विभागले नौ अर्ब सात करोड २६ लाख ९० हजार रुपैयाँ राजश्व सङ्कलन गर्न लक्ष्य दिएको तुलनामा कार्यालय लक्ष्यको ९१ प्रतिशत अर्थात आठ अर्ब २७ करोड एक लाख १५ हजार रुपैयाँ मात्रै राजश्व सङ्कलन गर्न सफल भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताउनु भयो । उहाँले ९० प्रतिशतसम्म वाहनमा लगानी गर्दै आएको बैंक तथा वित्तीय संस्थाले लगानीलाई घटाएपछि वाहन आयात घट्दै गएको र यसको सोझै असर राजश्व सङ्कलनमा पारेकाले मासिक लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिनुभयो ।
वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि नयाँ वाहन आयात घटेको कारण वीरगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको बैशाख महिनाको मासिक लक्ष्य समेत सङ्कलन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७३/०७४ को बैशाख महिनाका लागि भन्सार विभागले लिएको लक्ष्य भन्दा ८० करोड २५ लाख ७५ हजार रुपैया न्युन रावश्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
विगतका वर्षहरुमा नयाँ वाहनका लागि बैंक तथा वित्तीय संस्थाहरुले ९० प्रतिशतसम्म लगानी गर्दै आएकोमा नेपाल राष्ट्र बैंकले गत फागुन १९ गते देखी सवारी साधनमा ५० प्रतिशत भन्दा बढी लगानि नगर्न निर्देशन गरेपछि वाहन आयात घट्दै गएको हो ।
विसालसिताको रुपमा मानिने सवारी साधानमा लगानी कम गर्दै मुलुक भित्र उत्पादकत्व तथा आयआर्जनको क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशीत गरिएको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय वीरगन्जका उपनिर्देशक प्रदीप भट्टराइले जानकारी दिनुभयो । उहाँले उपभोग प्रवृतिलाई निरुत्साहित गर्न र उत्पादक क्षेत्रमा कर्जा लगानी गरी आय आर्जन तथा रोजगारी र उत्पादकत्व बढाउने उदेश्यले अनुत्पादक क्षेत्रमा कर्जा लगानी कम गर्न बैंकहरुलाई निर्देशन गरिएको उपनिर्देशक भट्टराइले बताउनु भयो ।
नयाँ सवारी साधनमा बैंक तथा वित्तीय संस्थाहरुले ९० प्रतिशत सम्म लगानी गरिरहेको अवस्थामा आर्थिक वर्ष २०७२/०७३ को बैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा पाँच प्रतिशत अर्थात ४५ करोड ८८ लाख रुपैया बढि राजश्व सङ्कलन गरेको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत बैशाख महिनामा भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुदै बस चार थान , मिनिबस ६ थान , जिप कार र भ्यान चार सय ४४ थान , पिकअप गाडी एक सय ६५ थान , बस ट्रकका चेसीस एक ४९ थान र मोटरसाइकल १० हजार सात सय ९१ थान गरी जम्मा ११ हजार सात सय ६६ थान मात्र नयाँ सवारी साधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । आयात भएको वाहनबाट भन्सार कार्यालयले दुइ अर्ब २० करोड ७५ लाख ५६ हजार रुपैया राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७२/०७३ को बैशाख महिनामा भने भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुदै बस, मिनिबस,जिप कार भ्यान,पीकअप गाडी,बस ट्रकका चेसीस र मोटरसाइकल गरि १९ हजार ३५ वटा नयाँ सवारी साधन नेपालमा भित्रिएको थियो जसबाट वीरगन्ज भन्सार कार्यालयले तीन अर्ब ५७ करोड ४५ हजार रुपैया राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षको बैशाख भन्दा चालु आर्थिक वर्षको बैशाखमा वीरगन्ज नाका हुदै सात हजार ६ सय ६९ वटा कम नयाँ सवारी साधन नेपालमा आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङकमा उल्लेख छ ।
यस्तै नयाँ सवारी साधनबाट संकलन हुने राजश्व पनि गत आर्थिक वर्षको बैशाखको भन्दा चालु आर्थिक वर्षको बैशाखमा एक अर्ब ३६ करोड २४ लाख ८९ हजार रुपैया कम सङ्कलन भएको छ । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/