प्रधानमन्त्री कप क्रिकेटःसुदूरपश्चिम र पूर्वाञ्चलले अंक बाँडे

13

काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् ।

 

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाउँदै २२ रन बनाउँदा बर्षा बाधक बनेको थियो । त्यसयता खेल सुचारु गर्न सकिएन र दुवैले एक एक अंक पाए ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । उसका लागि बिजय रानाले ५५ रनको अर्धशतकीय पारी खेले । १०८ बलमा उनले २ चौका प्रहार गरे । खराव सुरुवात गरेपनि मध्यक्रममा आएर उनले सुदूरपश्चिमको पारी उकासे । उसका लागि सन्तोष भट्टले २२ रनको योगदान दिए ।

दोहोरो अंकको रन बनाउन नसकेका सुदूरपश्चिमका ७ ब्याट्सम्यानमध्ये दुई जना खाता खोल्नै नपाई पेविलियन फर्केका थिए । सुदूरपश्चिमले २३ अतिरिक्त रन पाएको थियो ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।