राष्ट्रिय जनता पार्टीको चुनाव बहिष्कार गर्ने निर्णय, जेठ १३ देखि १९ सम्म आन्दोलनका कार्यक्रम घोषणा

10

काठमाडौं । मधेस केन्द्रीत दलहरु आबद्ध संघीय गठबन्धनले जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रक्रिया बिथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। गठबन्धनले शुक्रबार पत्रकार सम्मेलन गरी जेठ १३ देखि १९ गते सम्मका लागि भन्दै पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

सरकारसँग भएका सहमतिको कार्यान्वय नभएको, संविधान संशोधन प्रस्ताव अघि नबढाएको तथा चुनावमा सहभागी हुन चुनाव चिन्ह नदिएको भन्दै राजपा नेपालको नेतृत्वमा रहेको संघीय गठबन्धनले आन्दोलनको घोषणा गरेको हो। गठबन्धनले जेठ १३ गते जिल्लाका सवै उपमहानगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस गर्ने, १४ गते जिल्ला सदरमुकाम नगरपालिका र गाउँपालिकामा लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ।

यस्तै जेठ १५ गते विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी–व्यापारी, बुद्धिजिवी, विभिन्न पेशाकर्मी, पत्रकार युवा, मजदुर आदिको बृहत अन्तक्रिया तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका सहिदहरुको सम्झनामा सवै मुख्य चोकमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

गठबन्धनले जेठ १६ गते जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घराउ गर्ने तथा जेठ १७ मा सवै जिल्ला सदरमुकाम, नगरपालिका था प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ। जेठ १८ र १९ गते मधेस–थरुहट– लिम्बुवान बन्द, आमहड्ताल तथा उम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अबरोध गर्ने गठबन्धनले जनाएको छ।