सतरी हजार रुपैया सहित जिशिअ र इन्जिनियर पक्राउ

28

बीरगंज,११ जेष्ठ ।  भवन निर्माणको विल फर्छौट गरेवापत घुस रकम लिदा लिदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ । जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न्न घुस रकम लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुशन्धान अयोगको कार्यालय काठमाण्डौबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवल किशोर झालाई रंगेहात पक्राउ गरेको हो ।
पर्साको श्री नेराप्रावि मैनपुर पर्साको तीन तल्ले भवन निर्माणको विल फर्छौट गरेवापत जिशिअ तिवारीले ५० हजार र इन्जिनियर झाले २० हजार नगद लिएपछि घुस रकम सहित पक्राउ गरिएको अख्तियार टोलीले जनाएको छ । नेराप्रावि मैनपुरको तीन कोठे भवन निर्माणको १९ लाख ५० हजार रुपैयाको विल भरपाई फर्छौट गरे बापत जिशिअ तिवारी र इन्जिनियर झाले रकम माग गरेको पुर्व सूचनाको आधारमा छापामारी गरी घुस रकम बरामद गरिएको अख्तियार टोलीले बताएको छ । बरामद गरिएको घुस रकमको बरामदी मुचुलका गरी जिशिअ तिवारी र इन्जिनियर झालाई आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिईएको अख्तिायारका अधिकारीहरुले बताएका छन् । पक्राउ परेका दुवै अधिकारीहरुलाई आवश्यक कारवाहीका लागि आजै काठमाण्डौ लैजाने अधिकारीले जानकारी दिएका छन् ।