विद्युत कटौतीका कारण नारायणी उप–क्षेत्रीय अस्पतालको उपचारमा समस्या

12

बिजय चौहान
वीरगन्ज,१२ जेष्ठ ।   अनियमित विद्युत कटौतिका कारण वीरगन्जको नारायणी उप–क्षेत्रीय अस्पतालमा रहेका उपचार उपकरण संचालनमा समस्या भएपछि उपचार सेवा प्रभावित भएको छ । अनियमति विद्युत कटौतिका कारण समयमा उपकरण संचालन नहुदा उपचारका लागि अस्पताल आएका विरामी मर्कामा पर्ने गरेका छन् ।
विद्युत प्रधिकरणले सार्वजनिक गरेको लोडसेडिङ्ग तालिका भन्दा बढी बिधुत कटौतीले गर्दा उपकरण संचालन गर्न नसकिएको कारण विरामीले समस्या खेप्नु परेको अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा.चितरंजन साहले जानकारी दिनुभयो ।
विद्युत कटौतिको सबै भन्दा बढी प्रभाव अस्पतालको प्रयोगशालामा परेकोे छ । दैनिक एक हजार २ सय भन्दा बढी विरामीको चाप रहेको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा २ सय ५० जना भन्दा बढी विरामीको रोग पत्ता लगाउन रगत, पिसाब लगायतको एक हजार ३ सय भन्दा बढी परिक्षण हुने गरेको प्रयोगशालाका टेकनिशियन लालबाबु पाण्डेले जानकारी दिनुभयो ।
अनियमित विद्युत कटौतिका कारण उपचारमा समस्या विरामीले खेपरेपछि अस्पताल व्यवस्थापन त्यसलाई समाधान गर्न प्रयास समेत नगरेको अस्पतालकै कर्मचारीहरुको भनाई रहेको छ ।
यसै विषयमा अस्पतालमा मेसु साहसंग बुझदा उहा“ले अनिमित विद्युत कटौतिको प्रभावलाई कम गर्न अस्पतालले प्रति दिन ८ हजार रुपैया भाडा तिरी एक सय २५ केभिको जेनेरेटर अस्पतालमा संचालन गरेपनि दश दश मिनेटमा हुने विद्युत कटौतीले समस्यालाई अझै बढाएकोे जानकारी दिनुभयो । अस्पतालको जेनेरेटर विग्रीएको कारण भाडा ल्याएको जेनेरेटरले समेत खासै फाइदा विरामीले पाउन नसकेको उहा“को भनाई रहेको छ ।
विद्युत समस्याको कारण अस्पतालमा रहेको इन्डोस्कोपिक,एक्सरे,प्रयोगशाला, अपरेशनथिएटर समेतमा समसया देखिएको अस्पतालले जनाएको छ । बारा ,पर्सा, रौतहट,सर्लाही,मकवानपुर र सिमावती भारतीय क्षेत्रका विरामीको उपचार गराउने मुख्य थलोको रुपमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल नै रहेको कारण यस अस्पतालमा बिरामीको चाप बढी हुने गरेको छ ।