काठमाडौँ, २१ जेठ । सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ ।
उक्त दलको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा देउवाको पक्षमा मतदान निर्णय गरेको हो ।
सभापति देउवाले सरकार गठनपछि संविधान संशोधनलगायत विषयलाई समाधान गर्ने प्रतिबद्धता जनाएकाले आफ्नो दलले समर्थन गर्ने निर्णय गरेको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
“हाम्रा मुद्दालाई समाधान गर्ने प्रतिबद्धताअनुसार मुलुकको ४० औँ प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवालाई मतदान गर्ने निर्णय गरेका छौँ, सरकारमा सहभागिता जनाउनेबारे परिस्थिति हेरेर उचित समयमा निर्णय गरिन्छ”,उहाँले भन्नुभयो । फोरमसँग हाल व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १५ सांसद हुनुहुन्छ । रासस