सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

38

काठमाडौँ, २८ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ ।

यद्यपि, राजपा नेपालले भने सत्ता पक्षले आफ्ना राजनीतिक माग पूरा नगरेको भन्दै आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुन नसक्ने जनाएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई प्राविधिक रुपमा निर्वाचनमा भाग लिने सहज वातावरण बनाउन केही कानुन संशोधन गर्ने सहमति भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले तत्काल संविधान संशोधन, जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या वृद्धि र तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभए निर्वाचनमा जान नसकिने बताउनुभयो । राजपा नेपालले आजै बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी पनि नेता झाले दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेका सभापति शेरबहादुर देउवा, नेकाका वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, राजपा नेपालका नेता महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो । रासस

यस्तो छ राजपाको आन्दोलन कार्यक्रम

– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।

– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।

-जेठ ३० र ३१ गते गाउँपालिका, नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।

-असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।

-असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।

-असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने ।

-असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।

-असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने ।

-असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने ।

-असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।

 

https://ankushdaily.com/