वीरगंज, २८ जेठ । एमाले केन्द्रीय कमिटीले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीलाई पार्टी प्रवेश गराउने निर्णयमा सहमति गरेको जनाइएको छ । सचिवालय बैठकबाट पार्टी प्रवेश र पार्टी केन्द्रीय कार्यालयले महानगर प्रमुखको उम्मेदवारमा अन्सारीलाई टिकट दिएर लडाउने सहमति भएको जनाइएको छ । त्यसै गरी नेकपा एमाले पर्साको सचिवालय बैठकले वीरगंज महानगरका वडा अध्यक्षहरूको नामावली तयार गरेको र चाडै सार्वजनिक गरिने जनाइएको छ ।
यसैबिच नेशनल मेडिकल कलेजका प्रबन्धक÷निर्देशक बसरुदिन अंसारीले वीरगंज महानगरपालिकाको वडा नं. २० हरपतगंजमा इफतारी एवं स्थानियबासीहरुसंग चुनावी छलफल कार्यक्रम सम्पन्न गर्नु भएको छ । मुस्लिम समुदायको महान पर्व रमदानको अवसरमा आज हरपतगंज स्थित मस्जिदमा नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारी, स्थानिय प्रवेज अंसारी, लालमहम्मद अंसारी, मेराज अंसारी लगायत स्थानिय मुस्लिम समुदायका रोजा गर्ने सर्वसाधारणहरुले सामुहिक रुपमा इफतारी गर्नु भएको छ । सो अवसरमा आकाश एफएमका एमडि आशिक अंसारी, मधेसी पत्रकारसमाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, पत्रकार नेहाल खान, अकलु यादव, संतोष पासवान, लगायतको सहभागीता रहेको थियो ।