शरणार्थी शिविरमा नौ सय बिरामी

5

मोसुल, ३० जेठ । इराकको मोसुल सहरको अल खजीर इकालामा रहेको शरणार्थी शिविरमा रमाजानको अवसरमा दिइएको बिहानको खाजा खाएपछि नौ सयभन्दा बढी व्यक्ति विरामी परेका छन् ।

मोसुलको सो शिवीरमा इराकका आन्तरिक शरणार्थी बस्दै आएका र मङ्गलबारको बिहानको खाजापछि विरामी परेका इराकी अधिकारीले जानकारी दिएका छन् ।

मोसुल सहरबाट विस्थापित भएर आएका करिब नौ सय शरणार्थी अल खजीरमा अवस्थित दुई वटा शरणार्थी शिविरमा बसोबास गर्दै आएका छन् ।

‘कतारी ह्युमनीटरियन अर्गनाइजेसन्’ले सहयोग स्वरुप दिएको सो खाद्य पदार्थ बिहानको खाजामा दिइएको इराकी संसद्का सदस्य जैहिद अल खतोनीले शिवीरस्थित समाचारदातालाई बताउनुभएको छ ।

अर्बील र निनेभेह प्रान्तका चिकित्सक समूह प्रभावित व्यक्तिको उपचारको लागि शिविरको चिकित्सक केन्द्रमा पुगेका र हाल उनीहरुको स्थिति सामान्य बन्दै गएको बताइएको छ ।

म्याद नाघेको खानेकुरा खाएर विरामी परेका ती व्यक्तिहरुमा प्रायःमहिला बालबालिका र बृद्धहरुको सङ्ख्या बढी रहेको बताइएको छ ।

मानवीय सहयोग स्वरुप पठाइएका खाद्यान्नमा गेडागुडी, चामल कुखुराको मासु, दही र इर्बील रेष्टुरेन्टबाट ल्याइएको पेयपदार्थ रहेका थिए ।

प्रभावित भएका व्यक्तिमा पेट दुख्ने र वान्ता हुने समस्या रहेको बताइएको छ । इर्बील स्वास्थ्य विभागले चिकित्सक समूह र ३० वटा एमबुलेन्स पठाएको बताएको छ ।

मोसुल सहरबाट ५० किलोमिटर पूर्वमा पर्ने यी दुई शरणार्थी शिविरमा पश्चिमी मोसुलबाट आफ्ना घर छोडी आएका व्यक्तिको बसोबास रहँदै आएको छ । रासस- सिन्हवा