बीउ भण्डारण भवन निर्माण

25

बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–३ मुसुङका कृषकले आलुको बीउ भण्डारण भवन निर्माण गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जना बीउ आलु उत्पादन कृषक समूहमा आबद्ध कृषकले भवन निर्माण गरेका हुन् । रु छ लाखको लागतमा निर्माण भएको सो भवनको भण्डारण क्षमता दश मेट्रिक टन रहेको समूहका अध्यक्ष नरबहादुर मगरले जानकारी दिनुभयो ।

कृषि कार्यालयको रु दुई लाख ६१ हजार अनुदान तथा कृषकको रु तीन लाख ३९ हजार बराबरको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण गर्न ६० घरधुरीका कृषकले छ दिनका दरले श्रमदान गरेका थिए ।

कृषकलाई गुणस्तरीय आलुको बीउ उपलब्ध गराउने र गाउँ बाहिर बीउ निकासी गरेर आम्दानी बढाउने उद्देश्यले भवन निर्माण गरिएको अध्यक्ष मगरले बताउनुभयो । यसअघि मुसुङका कृषकले सदरमुकाम बेनीबाट आलुको बीउ लैजाने गरेका थिए ।

आलुको गुणस्तर र उत्पादन बढाउनका लागि पकेट क्षेत्रमा बीउ आलु भण्डारण भवन निर्माण गर्न सघाएको कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो । रासस

https://ankushdaily.com/