बिजय चौहान
वीरगन्ज, असार । स्वास्थ्य मन्त्रालयको लिखित निर्देशनलाई नारायणी उपक्षेत्रीय अस्पतालका अधिकारीहरुले धोति लगाएका छन् । अस्पतालको स्वामित्वमा रहेको सटरमा संचालित औषधी पसल खाली गराउन स्वास्थ्य मन्त्रलायले एक दर्जनभन्दा बढी पत्र उपक्षेत्रीय अस्पतालमा पठाएतापनि मन्त्रालयको निर्देशनलाई अस्पताल प्रशासनले बेवास्ता गर्दै औषधी पसल निर्वाध रुपमा संचालन गराउदै आएका छन् ।
अस्पताल परिसर वा अस्पतालको स्वामित्वकमा रहेको कोठामा कुनैपनि संघ संस्था वा व्यक्तिलाई औषधी पसल संचालन गर्न रोक लगाए पछि मन्त्रालयले उक्त आदेश कार्यान्वयन गर्न गराउन उपक्षेत्रीय अस्पताललाई एक दर्जन पत्र पठाएपनि हाल सम्म औषधी पसल संचालन रहेको सटर खालि नगराई कर्मचारीहरु अटेर गर्दै आएका छन् । उपक्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको १६ वटा सटरमा संचालित १३ वटा औषधी पसललाई खालि गराउन स्वास्थ्य मन्त्रालयले २०७४ असार १९ गते पत्र पठाएपनि सटर खालि गराउन अस्पताल प्रशासनले हाल सम्म कुनै पहल गरेको छैन ।
स्वास्थ्य मन्त्रालयको चलानि नम्बर ३६९४ बाट १९ गते अस्पतालमा आएको पत्रमाथि अस्पताल प्रशासनले कार्यवाही किन नगरेको वारे उपक्षेत्रीय अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. चित्ररंजन साहसंग बुझ्दा उहाँले सटर खालि गराउन सात दिने सार्वजनिक सुचनाको तयारीमा अस्पताल रहेको जानकारी दिनुभयो । उहाँले असार २९ गते बसेको अस्पताल विकास समितको बोर्ड बैठकमा सटर खालि गराउने विषयमा छलफल भएको बताउदै डा साहले प्रकृया पुऱ्याएर चाँडै मन्त्रालयको निर्देशन अनुसार कार्यवाही अगाडी बढाउने दावी गर्नुभयो ।
अस्पतालमै कार्यरत रहेका कर्मचारीले नै संचालन गरेको औषधी पसललाई जोगाउन प्रमुख जिल्ला अधिकारीले नै संरक्षण दिएको विकास समितिका एक बोर्ड सदस्यले अंकुशलाई बताएका छन् । श्रोतले दिएको जानकारी अनुसार सटर खालि गराउन बोर्ड बैठकमा प्रस्ताव लग्दा सटरको विषय विवादित भएको यसलाई पछि गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी पन्छाउने गरेका छन् ।
यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसंग बुझ्दा उहाँले अस्पताल विकास समितिमा रहेका बोर्ड सदस्यहरुले नै औषधी पसललाई संरक्षण दिदै आएको आरोप लगाउन ुभयो । उहाँले सटर खालि गराउन अस्पताल विकास समितिको बोर्ड बैठकले निर्णय गरी शान्ति सुरक्षा उपलब्ध गराउन माग गरे सटर राखि गराउन आफु सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । अस्पतालको स्वामित्वमा रहेको सटरमा संचालित रहेका औषधी पसल खालि हुनु पर्ने पक्षमा आफु रहेपनि बोर्डबाट नै कुनै निर्णय नगरिएको कारण औषधी पसल संचालनमा रहेको प्रजिअ घिमिरे बताउनु भयो । अस्पताल प्रशासनले सटर खालि गराउन निर्णय गरोस सुरक्षा दिन आफु तयार रहेको प्रजिअ घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।