वीरगन्ज, असार । सरकारी कागज किर्ते गरेको अभियोगमा प्रहरीले शुक्रबार एक युवकलाई वीरगन्जको अञ्चल यातायात व्यवस्था कार्यालयबाट पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालयको सवारी कर भाउचरमा किर्ते गरेको अभियोगमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर २३ निवासी वर्ष २५ का सम्योग कुमार गिरीलाई पक्राउ गरेको हो ।
ना १ क २५५१ नम्बरको क्रेनको वार्षीक राजश्व र जरिवाना तिर्न गएका गिरीले गोलोबल आइ.एम.ई बैंकमा चार हजार रुपैया जम्मा गरेपनि बैंक भाउचरमा किर्ते गरी कार्यालयमा ८४ हजारको भाउचर पेश गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका गिरीमाथि मुलुकी ऐनको सरकारी कागज किर्ते महलको मुद्दा चलाउने तयारी गरिएको बताउनु भयो ।
बैंकमा कम रकम जम्मा गरी भाउचरमा बढी लेखि सरकारी कर तिर्ने कार्य यातायात कार्यालयमा भएको कार्यालयका कर्मचारीहरुले बताएका छन् । सवागा्रहीको अत्याधिक चाप भएको कारण प्रत्येक भाउचरलाई चेक जाँच गर्न नसकिने बाध्यताको फाइदा उठाउदै कार्यालयमा लेखापढिको काम गर्नेहरु बाटै किर्ते भएको अन्य भाउचर समेत फेला परेको कर्मचारीहरुले बताएका छन् ।